कबड्डी टोलीको वैदेशिक प्रशिक्षण भारतमा

कबड्डी टोलीको वैदेशिक प्रशिक्षण भारतमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा जाने भएको छ।

प्रशिक्षणका लागि खेलाडीमा घनश्याम रोकामगर, अंकु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली रहेका छन्। घनश्याम, अंकु, रवि र करुण भारतमै प्रशिक्षणरत छन्। घनश्याम हरियाणामै छन् भने बाँकी ३ खेलाडी हिमाचल प्रदेशमा छन्। उनीहरू त्यतैबाट टिममा समावेश हुनेछन्।

प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा कल्याण भुजेल र व्यवस्थापकमा परशुराम ओली छन्। व्यवस्थापक ओली भने केही दिनपछि जाने छन्।

खेलाडीले हरियाणास्थित सनदीप नरवाल एकेडेमीमा एक महिना प्रशिक्षण गर्ने छन्। त्यसपछि टोली प्रशिक्षणकै लागि थाइल्यान्ड जाने कार्यक्रम रहेको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन्।

‘यदि चाइनिज ताइपेई पनि थाइल्यान्डमा आयो भने मात्र हाम्रो टोली थाइल्यान्ड जान्छ। त्यहाँ हामीसहित ३ राष्ट्रको अभ्यास खेल हुन्छ। ताइपेई बैंकक नगएको खण्डमा हामी भारतकै जयपुर र उत्तर प्रदेशमा प्रशिक्षणलाई निरन्तरता दिने छौं। भारतमा विभिन्न स्थानीय टोलीसँग अभ्यास खेल पनि खेल्छौं,’ तयारीबारे महासचिव झाले भने।

टोली प्रशिक्षणस्थलबाटै ३–१८ असोजसम्म हुने एसियाली खेलकुदमा सहभागी हुन जापान जानेछ। एसियाली खेलकुदमा नेपाली पुरुष कबड्डी टोलीको यो पाँचौं सहभागिता हुनेछ। यसअघि पुरुष टोलीले १९९० मा चीन, १९९४ मा जापान, १९९८ मा थाइल्यान्ड र २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा सहभागिता जनाएको थियो।

नेपाली महिला कबड्डीले पनि २० औं एसियाली खेलकुदमा सहभागिता जनाउने छ। महिला टोलीले दोस्रो पटक भाग लिन लागेको हो। चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा महिला टोलीले पहिलो सहभागिताम ऐतिहासिक कांस्य पदक जितेको थियो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र कबड्डी संघकी अध्यक्ष तुलसी थापाले बुधबार बिदाइ गरे।

Logo