साफ यु–१५ फुटबल : नेपाल फेरि भारतसामु निरीह

साफ यु–१५ फुटबल : नेपाल फेरि भारतसामु निरीह

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ११ भदौ ।

काठमाडौंमा संचालन भइरहेको पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिप (साफ यु–१५) फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । आज भएको फाइनलमा भारतले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

समूह चरणका खेलमा भारत समूह बीको विजेता र नेपाल उपविजेता भएर सेमिफाइनल प्रवेश गरेका थिए । यसअघि सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४–२ ले र भारतले भुटानलाई २–० ले पराजित गरेको थियो । समूह चरणमा नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गरेको थियो भने अर्को खेलमा भारतविरुद्ध २–१ ले पराजित भएको थियो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्लेक्स परिसरको खेल मैदानमा भएको खेलमा पहिलो अग्रता नेपालले पेनाल्टीमार्फत पाएको थियो । ४१औं मिनेटमा स्ट्राइकर ब्रिजेश चौधरीले पेनाल्टीलाई सदुपयोग गरेका थिए ।

पहिलो हाफमा नेपाल १–० को अग्रतामा थियो । दोस्रो हाफमा भने नेपालको यही लय कायम रहन सकेन ।

दोस्रो हाफको खेल अगाडि बढ्दा ५८औं मिनेट सकिनै लाग्दा लाल माखिमले गोललाइन नजिकैबाट गोल गर्दै भारतलाई १–१ को बराबरीमा पुर्याएका थिए ।

७५औं मिनेटमा भारतीय कप्तान विक्रम प्रताप सिंहले डिबक्सभित्रैबाट कडा प्रहार गर्दै आफ्नो टोलीलाई २–१ ले अगाडि पुर्याए । विक्रमले समूह चरणमा पनि नेपालविरुद्ध एक गोल गरेका थिए ।

भारतले ८२औं मिनेटमा डिबक्सभन्दा ठिक बाहिर बायाँतर्फ फ्रिकिकको अवसर पाउको थियो । तर त्यो प्रहार गोलपोस्भन्दा नजिकैबाट बाहिरिएको थियो ।

निर्धारित ९० मिनेटको खेल समाप्त भएपछि थपिएको ३ मिनेटको इन्जुरी समयमा पनि थप कुनै गोल हुन नसके पनि भारत २–१ ले च्याम्पियन बनेको हो ।

प्रतियोगितामा तेस्रो स्थानका लागि भएको खेलमा बंगलादेशले भुटानलाई पराजित गरेको थियो ।

फेयर प्ले अवार्ड – बंगलादेश
बेस्ट प्लेयर अवार्ड – विक्रम प्रताप सिंह (भारत)
हाइयेस्ट स्कोरर – फैजल अहमद रहीम (बंगलादेश/(६ गोल)

Logo