तेस्रो टेस्टमा श्रीलंकाविरुद्ध भारत इनिङ र १७१ रनले विजयी

तेस्रो टेस्टमा श्रीलंकाविरुद्ध भारत इनिङ र १७१ रनले विजयी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ३० साउन ।

श्रीलंकाविरुद्ध जारी तीन टेस्ट म्याचको शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम टेस्ट भारतले एक इनिङ र १७१ रनको विशाल अन्तरले सोमबार जितेको छ । यो जितसँगै भारतले आफ्ना लागि नयाँ इतिहास पनि रचेको छ ।

यो नितान्त पहिलोपटक हो जतिबेला भारतले आफ्नो ८५ वर्ष लामो टेस्ट क्रिकेट इतिहासमा विदेशी भूमिमा ती टेस्टको शृंखला ३–० ले जित्दै क्लिनस्विप गर्न सफलता पाएको छ । यसअघि भारतले सन् २००४ मा बंगलादेश र २००५ मा जिम्बाब्वेविरुद्धका शृंखलाहरू किल्नस्विप गरेको थियो तर ती शृंखलाहरू दुई–दुई टेस्टका मात्र थिए ।

यससँगै विराट कोहली पहिलो कप्तान बन्न सफल भएका छन् जसको अगुवाइमा भारतले आफ्नो ८५ वर्षको इतिहासमा तीन टेस्ट म्याचको शृंखला ३–० ले क्लिनस्विप गर्न सफलता पायो ।

यसका साथै भारतीय टोली श्रीलंकामा सबैभन्दा धेरै टेस्ट जित्ने टिम पनि बनेको छ । रोचक पक्ष के पनि छ भने ५० वर्षपछि भारतले शृंखलामा तीन टेस्ट म्याच जितेको छ । यसअघि सन् १९६७ मा न्युजिल्यान्ड भ्रमण गएको बेला त्यहाँ खेलिएका चार टेस्टको सिरिज भारतले ३–१ ले जितेको थियो ।

भारतले पहिलो टेस्टमा फालोआन नदिइकन ब्याटिङ गर्दै पछि दोस्रो इनिङ डिक्लेयर गरेको थियो । त्यो टेस्ट भारतले ३०४ रनले जितेको थियो भने दोस्रो टेस्ट एक इनिङ र ५३ रनले जितेको थियो ।

श्रीलंकाको पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको तेस्रो टेस्टको तेस्रो दिन सोमबार अन्तिम ब्याट्म्यान लाहिरु कुमारालाई बोल्ड गर्दै रविचन्द्रन आश्विनले श्रीलंकन इनिङ समाप्त गरिदिएका थिए ।

भारतीय स्कोर ४८७ को जवाफमा पहिलो इनिङमा मात्र १३५ टिमस्कोरमा आउट भएर फालोआन पाएको श्रीलंका दोस्रो इनिङमा पनि केवल १८१ रनमै अलआउट भयो । यसले गर्दा भारत एक इनिङ र १७१ रनले विजयी भयो । भारतीय इनिङमा शिखर धवन र हार्दिक पान्ड्याका दुई शतक र ओपनर लोकेश राहुलको ८५ रनको योगदान थियो ।

दोस्रो इनिङमा श्रीलंकाका लागि डिमुथ करुनारत्नेले १६, उपुल थारंगाले ७,मालिन्डा पुष्पकुमाराले १, केसल मेन्डिसले १२, कप्तान दिनेश चान्डीमलले ३६, एन्जेलो म्याथ्युजले ३५, विकेटकिपर निरोशन डिकवेलाले ४१, डी परेरा र लक्सन सन्दाकानले ८–८, लाहिरु कुमाराले १० र विश्व फर्नान्डोले ४ नटआउट रन बनाए ।

भारतका लागि आश्विनले ४, मोहम्मद शामीले ३, उमेश यादवले २ र कुलदीप यादव १ विकेट लिए । आश्विनले यो टेस्ट शृंखलामा कुल १७ विकेट लिए ।

 

Logo