श्रीलंका एक इनिङ र ५३ रनले पराजित, शृंखलामा भारतको कब्जा

श्रीलंका एक इनिङ र ५३ रनले पराजित, शृंखलामा भारतको कब्जा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २२ साउन ।

श्रीलंकामा जारी तीन टेस्टको शृंखलाअन्तर्गत दोस्रो टेस्टको चौथो दिन श्रीलंकालाई एक इनिङ र ५३ रनले पराजित गरेको छ । यसका साथै तीन टेस्टको चालू शृंखलामा भारतले २–० को अपराजेय अग्रता लिँदै एक टेस्ट खेल्न बाँकी छँदै शृंखला नै जितेको छ ।

पहिलो इनिङमा भारतले बनाएको ९ विकेटमा ६२२ रन डिक्लेयरको विशाल स्कोरविरुद्ध जवाफी ब्याटिङमा श्रीलंका १८३ रनमा अलआउट भएको थियो । पहिलो इनिङमा ४३९ रनको अग्रता पाएको भारतले यो टेस्टको तेस्रो दिन आइतबार नै श्रीलंकालाई फलोआन दिँदै पुःन ब्याटिङका लागि निम्त्याएपछि उसको दोस्रो इनिङ सुरु भएको थियो ।

तेस्रो दिनको खेल समाप्त हुँदा श्रीलंका २०९ रनमा २ विकेटको स्थितिमा थियो । चौथो दिन सोमबार खेल सुरु भएर २९ थपिएको अवस्थामा उसको तेस्रो विकेट खसेको थियो ।
श्रीलंकाका लागि ओपनर दिमुथ करुणारत्नेले सानदार ब्याटिङ गर्दै शतक प्रहार गरे । यो उनको छैटौं टेस्ट शतक हो । श्रीलंकाको पाँचौं विकेटका रूपमा आउट हुनुअघि उनले १६ चौकासहित ३०७ बलमा १४१ रन बनाए । उनी ९५ रनको निजीस्कोरमा भएको बेला लोकेश राहुलले क्याच छाडेर उनले जीवदान पाएका थिए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कुसल मेन्डिसले पनि उम्दा ब्याटिङ गर्दै १७ चौकासहित १३५ बलमा ११० रनको तेज शतकीय इनिङ खेलेका थिए । उनले करुणारत्नेसित मिलेर दोस्रो विकेटका लागि १९१ रनको लामो साझेदारी पनि पूरा गरेका थिए ।

उनीहरूबाहेक मलिन्डा पुष्पकुमाराले १६, एंजेलो म्याथ्युजले ३६, निरोशन डिकवेलाले ३१ तथा धनन्जय डिसिल्भा र रंगना हेराथले १७–१७ रन बनाए ।
भारतका लागि रविन्द्र जडेजाले ५ विकेट, रविचन्द्रन आश्विन र हार्दिक पांड्याले २–२ तथा उमेश यादवले १ विकेट लिए ।

१८३ रनमा समेटिएको श्रीलंकाको पहिलो इनिङमा निरोशन डिकवेलाले सर्वाधिक ५१, एंजेलो म्याथ्युज २६, करुणारत्ने र परेरले २५–२५ र कुशल मेन्डिसले २४ रन बनाएका थिए । भारतका लागि आश्विनले ५, रविन्द्र जडेजा र मोहम्मद शामीले २–२ विकेट लिएका थिए ।

आश्विनले यो टेस्टमा ब्याटिङतर्फ अद्र्धशतक बनाउनुका साथै पहिलो इनिङमा ५ र दोस्रो इनिङमा २ विकेट लिए । उनले यसै टेस्टमा टेस्ट क्रिकेटमा २००० रन बनाउनुका साथै २५० विकेट लिने कीर्तिमानमा पनि साझेदारी गर्न सफल भए । (एजेन्सीको सहयोगमा)

Logo