भारत–श्रीलंका दोस्रो टेस्ट : भारतको बलियो सुरुआत

भारत–श्रीलंका दोस्रो टेस्ट : भारतको बलियो सुरुआत

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १९ साउन ।

श्रीलंकामा भइरहेको भारत र श्रीलंकाबीचको टेस्ट शृंखलाअन्तर्गत आजदेखि सुरु भएको दोस्रो टेस्टमा भारतले बलियो प्रदर्शन गरेको छ । चेतेश्वर पुजारा र अजिन्क्ये राहानेको सानदार शतकको सहयोगले भारतले पहिलो दिनको खेल समाप्तिमा ३ विकेटको क्षतिमा ३४४ रन बनाएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको भारतले ओपनिङ सामान्य गरेको थियो । पहिलो टेस्टमा सेन्चुरियन ओपनर शिखर धवन ३५ रनको निजी स्कोरमा आउट हुँदा टिमस्कोर ५६ मात्र थियो । उनी डी परेराको बलमा एलबिडब्लु भए ।

दोस्रो विकेटका लागि पुजारासित ५३ रन जोडेका अर्का ओपनर केएल राहुल ५७ रन बनाएर लन्चपछि रनआउट भए । राहुलको यो छैटौं इनिङमा लगातार छैटौं अद्र्धशतक हो । कप्तान विराट कोहलीले खासै केही गर्न सकेनन् र केवल १३ रन बनाएर रंगना हेराथको बलमा क्याच आउट भए ।

पहिलो दिनको खेलको समाप्तिमा पुजारा १२८ र राहाने १०३ रनमा नटआउट खेलिरहेका छन् । यो पुजाराको १३औं र राहानेको ९वौं टेस्ट शतक हो । दुवैबीच चौथो विकेटका लागि अहिलेसम्म २११ रनको नटआउट साझेदारी भइसकेको छ । स्मरणीय छ, पुजाराले यसअघि भारतले ३०४ रनले जितेको पहिलो टेस्टमा पनि १५३ रन बनाएका थिए ।

आफ्नो ५०औं टेस्ट खेलिरहेका पुजाराले टेस्ट क्रिकेटमा ४००० रन पनि पूरा गरे । यो उनको ८४औं इनिङ हो । यसअघि राहुल द्रविडले पनि ८४ इनिङमै ४००० टेस्ट रन पूरा गरेका थिए । भारतको तर्फबाट सबैभन्दा छिटो ४००० टेस्ट रन बनाउने वीरेन्द्र सहवाग हुन् जसले ७९ इनिङमै यति रन बनाइसकेका थिए । सुनील गावस्करले ८१ इनिङमा ४००० रन बनाएका थिए ।

अहिलेसम्म श्रीलंकामा कुल २२ टेस्ट म्याच खेलेको छ जसमा उसले ७ टेस्टमा पराजय र ७ टेस्टमा विजय हासिल गरेको छ । बाँकी ८ टेस्ट बराबरीमा समाप्त भएका छन् ।

(एजेन्सीको सहयोगमा) 

Logo