राष्ट्रिय महिला लिग : चौदण्डीगढीको पोस्टमा आर्मीको ९ गोल

राष्ट्रिय महिला लिग : चौदण्डीगढीको पोस्टमा आर्मीको ९ गोल


राष्ट्रिय महिला लिग फुटबलकाे दोस्राे चरणकाे उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले शानदार जित दर्ता गरेकाे छ । उपाधि दाबेदार आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० ले पराजित गरेको हो । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ४ गोल गरिन् । यस्तै शर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एक/एक गोल गरे । खेलमा चौदण्डीगढीले आर्मीलाई आत्मघाती उपहार पनि दिलाएको थियो ।

प्रतियोगिताकै कमजोर टिम चौदण्डीविरुद्ध आर्मीले १९ औं मिनेटमा रश्मीको गोलबाट अग्रता बनाएको थियो । रश्मीले चौदण्डीकी गोलरक्षक दिलशिखा विश्वकर्मासँगको वान भर्सेस वानमा गोल गरिन् । खेलको २३ औं मिनेटमा शर्मिलाको गोलबाट आर्मीले अग्रता दोब्बर बनाएको थियो । यस्तै खेलको ४० औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मी पहिलो हाफमा ३–० ले अघि रह्यो । खेलको दोस्रो हाफमा आर्मीले थप ६ गोल गर्दा चौदण्डीगढी ९–० गोल अन्तरले पराजित भएको हो । आर्मीविरुद्ध चौदण्डीले ४ विदेशी खेलाडीलाई मैदान उतारेको थियो ।

चौदण्डीले भारत सिक्किमका गोलरक्षक दिपशिखासहित, एन्जिला भुटिया, एमित लेप्चा र सुजता राईलाई मैदान उतारेको थियो । जितसँगै आर्मीले ७ खेलमा १६ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । यता, चौदण्डीको यो लगातार सातौं हार हो । चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।

Logo