बैशाख २५ देखि जेठ १५ गेतसम्म पोखरामा सञ्चालन हुने ए डिभिजिन फुटसल लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार टर्नपाईक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ ।
एन्फाले राष्ट्रिय फुटसल लिगको विवरण सार्वजनिक गर्ने कार्यक्रममा प्रतियोगिताको व्यापार प्रबन्धक र व्यवस्थापनको लागि एन्फाको फुटसल कमिटिका संयोजक रत्नकुमार श्रेष्ठ र टर्नपाईकका प्रमुख उकेश लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार टर्नपाईकले एन्फालाई २९ लाख उपलब्ध गराउनेछ । सम्झौतापछि बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सहकार्य ऐतिहासिक भएको बताए । यस्तै टर्नपाईकका उकेश लोहनीले पनि सहकार्य गर्नपाउँदा खुसी लागको प्रतिक्रिया दिए ।
विभिन्न प्रदेशबाट छनोट चरण पार गरी सञ्चालन हुने लिगमा कुल १० टिमले सहभागीता जनाउनेछन् । जसमा बागमती प्रदेशबाट ४ टिम तथा प्रदेश–१ र गण्डकी प्रदेशबाट २÷२ टिम सहभागी हुने छन् । त्यस्तै प्रदेश–२ बाट एक टिम र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट संयुक्त एक टिम हुनेछ पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
लिगका लागि प्रदेश–१ को छनोट खेलहरु चैत १ देखि ५ सम्म इटहरीमा हुनेछ । प्रदेश–२ को छनोट हेटौंडामा चैत ८ देखि १२ सम्म सञ्चालन हुनेछ । यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको छनोट दाङमा चैत १९ देखि २३ सम्म हुनेछ । बागमतीको छनोट खेलहरु काठमाडौंमा चैत २५ देखि ३० सम्म हुनेछ भने गण्डकीको छनोट खेलहरु पोखरामा बैशाख ३ देखि ७ सम्म सञ्चालन हुनेछ । लिगमा ‘ए’ ‘बी’ र ‘सी’ डिभिजन क्लब, जिल्ला संघमा आबद्व क्लब तथा राष्ट्रिय खेलकुद परिषदमा आबद्व क्लबहरुले सहभागिता जनाउन पाउनेछन् ।
२० दिनसम्म सञ्चालन हुने लिगको विजेताले १० लाख प्राप्त गर्र्नछ भने उपविजेताले ५ लाख पाउनेछ । यस्तै सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन् । एन्फाले सहभागीता जनाउने प्रत्येक टोलीलाई व्यवस्थापनका लागि १ लाख उपलब्ध गराउने एन्फाले जनाएको छ ।





























प्रतिक्रिया