राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफ क्लबले कठिन जित निकालेको छ । सोमबार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबमाथि २–१ गोलको संघर्षपूर्ण जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन रबिना गोलेले एक गोल गरिन् । एपीएफले एक गोल आत्मघाती उपहार पाएको थियो । पुलिसका अमृता जैशीले एक गोल फर्काइन् ।
निकै प्रतिस्पर्धात्मक बनेको विभागीय डर्बीमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने आत्मघाती गोलबाट एपीएफले अग्रता बनायो । ६८ औं मिनेटमा पुलिसकी कप्तान घिमकुमारी गुरुङले आत्मघाती गोल गरिन् । तर, ७५ औं मिनेटमा पुलिसले बराबरी गोल फर्कायो । अमृताले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् ।
त्यसपछि खेलको ८५ औं मिनेटमा रबिनाले गोल गर्दै एपीएफलाई २–१ को जित दिलाइन् । जितसँगै एपीएफले अपराजित यात्रा कायम राखेको छ ।
एपीएफ उपाधि नजिक समेत पुगेको छ । एपीएफले १० खेलमा ३० अंक जोडेको छ । पुलिसले १० खेलमा १४ अंक जोडेको छ । चौंथो स्थानको पुलिस उपाधि होडबाट बाहिरिसकेको छ ।





























प्रतिक्रिया