महिला फुटबल लिगः पुलिससँग आर्मीको बराबरी

महिला फुटबल लिगः पुलिससँग आर्मीको बराबरी


राष्ट्रिय महिला लिग फुटबलमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा आर्मी नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

पहिलो हाफमा एक गोलले पछि परेको आर्मीले दोस्रो हाफमा गोल फर्काउँदै बराबरी खेलेको हो । खेलको १७ औं मिनेटमा अमृता जैशीको गोलबाट पुलिसले अग्रता बनाएको थियो । अमृताले कर्नर बलमा हेड गोल गरेकी थिइन् । तर, खेलको ५३ औं मिनेटमा रश्मी घिसिङले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरी ल्याइन ।

यस्तै खेलको ८७ औं मिनेटमा पुलिस पेनाल्टीमा गोल गर्न चुकेको थियो । पुलिसकी कप्तान घिमकुमारी गुरुङको पेनाल्टी प्रहार आकाशिएको थियो । पुलिससँग बराबरीमा रोकिएसँगै आर्मीको उपाधि यात्रा कमजोर बनेको छ ।

दोस्रो स्थानमा रहेको आर्मीले ११ खेलमा २६ अंक जोडेको छ । पाँचौं स्थानको पुलिसको १५ अंक रहेको छ ।

Logo