नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम धनगढी एफसीले मुख्य प्रशिक्षकमा नाइजेरियाली तोपे अयोडेजी फुजालाई अनुबन्धित गरेको छ । धनगढीले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षकमा प्रशिक्षक फुजालाई अनुबन्धित गरिएको जनाएको छ ।
फुजाकै नेतृत्वमा मनाङ मर्स्याङ्दी क्लबले २०७५ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । जुन शीर्ष श्रेणीको लिगमा मनाङको कीर्तिमान आठौं उपाधि थियो ।
सन् २००५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रुपमा कोचिङ करिअर सुरु गरेका फुजाले नेपालको ए डिभिजन लिग डेब्यू मछिन्द्र क्लब (२००६) बाट गरेका थिए । त्यसपछि भारतमा व्यस्त रहेका उनले सिमला योङ, मुम्बई युनाइटेढ, पियरलेस, हिन्दुस्तान एफसी, टलिगन्ज अग्रगामी, मोहम्मडन स्पोटिङ र चेन्नाई एफसीको टिम सम्हालेका थिए । उनी मनाङको जिम्मेवारीमा नेपाल फर्किएका थिए । गत वर्ष पनि मनाङमै रहेका थिए, जुन सिजन मनाङ लिगमा तेस्रो भएको थियो ।
धनगढीले मार्की खेलाडीको रुपमा विशाल राईलाई यस अघि नै अनुबन्ध गरिसकेको छ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संस्करणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछन् ।
टिममा स्वदेशी र विदेशी खेलाडी राख्न पाइनेछ । खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ । लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउनेछन् । यस्तै दुई खेलाडीले प्लेईङ सेटमा रहेर खेल्न पाउनेछन् ।































प्रतिक्रिया