ललितपुर मेयर महिला च्याम्पियनसिप चैत २१ देखि, विजेताले तीन लाख पाउने

ललितपुर मेयर महिला च्याम्पियनसिप चैत २१ देखि, विजेताले तीन लाख पाउने

केन्द्रबिन्दु
0
Shares

ललितपुर मेयर महिला च्याम्पियनसिप प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ पाउने भएका छन् ।

आइतबार नेपाल क्रिकेट संघ (क्यान) र ललितपुर महानगरपालिकाले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको विजेताले पाउने पुरस्कार राशी सार्वजनिक गरेका हुन् । प्रतियोगिता चैत २१ देखि २८ गतेसम्म आयोजना हुँदैछ ।

प्रतियोगितामा प्रदेश १, विभागीय टोली एपिएफ, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर महानगरपालिकाको टोलीले सहभागिता जनाउँदै छन् । 

ट्वान्टी–२० संरचनामा आयोजना हुने प्रतियोगिताको उपविजेताले १ लाख ५० हजार पाउने छ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछ। यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउने नेपाल क्रिकेट संघले बताएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुने प्रतियोगिता राउण्ड रोबिनको आधारमा हुनेछ। शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । कुल ७ खेल हुने प्रतियोगिताका लागि मुख्य प्रायोजक ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउने भएको छ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले खेलकुदलाई अगाडि बढाउनका लागि महानगरले सधैं हातेमालो गरेर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे। 

Logo