निर्माणाधिन खेल मैदानबाट अवैधरुपमा बालुवा उत्खनन्

निर्माणाधिन खेल मैदानबाट अवैधरुपमा बालुवा उत्खनन्

केन्द्रबिन्दु
0
Shares

चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको खेल मैदानमा ठेकदार कम्पनीले मापदण्ड विपरीत बालुवा उत्खनन गरिरहेको पाइएको छ। 

चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा निर्माण हुन लागेको खेल मैदानमा ठेकेदार कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिले मापदण्ड विपरित बालुवा उत्खनन गरेको हो । ठेकेदार कम्पनीले नगरपालिकासँग भएको सम्झौता वितरीत जमीनको लेबलभन्दा करिब २५/३० फिट तल गएर बालुवा उत्खनन गरेको हो। करिब ९३ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको खेल मैदान २०७९ जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गर्नेगरी २०७७ असार १७ गते आगन्जासँग सम्झौता भएको थियो। 

सो सम्झौता अनुसार ठेकेदार कम्पनीले जमीनको लेबलसम्म सम्याउने र त्यस क्रममा निस्किने माटो, बालुवा तथा अन्य निर्माण जन्य सामाग्रीको उत्खनन र बिक्रिवितरण गर्न पाउने गरी ८ करोड ६४ लाख रुपैयाँमा जिम्मा पाएको थियो । तर, नगरपालिकासँग भएको सम्झौता विपरीत ठेकेदार कम्पनीले बालुवा उत्खनन् गरिरहेको स्थानीयले बताएका छन् । स्थानीयहरुले विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर र सो वरिपरी रहेका बस्ती समेत जोखिममा पर्ने गरी सरकारी सम्पत्तीको चोरी निकासी भइरेको आरोप लगाएका हुन्। 

चाँगुनारायण नगरपालिकाले पनि ठेकदार कम्पनी आगन्जाले यसअघि पनि बारम्बार मापदण्ड विपरीत बालुवा उत्खनन् गरी बिक्रीवितरण गर्दै आएको स्वीकार गरेको छ । नगरपालिकाका सूचना प्रविधि अधिकृत एवं सूचना अधिकारी सिद्धान्त न्यौपानेले एक महिनाअघि पनि जिल्ला प्रसासन कार्यलय, भक्तपुरमार्फत उक्त कार्य रोक्न निर्देशन दिएको बताए । उनले सम्झौताभन्दा बाहेक गरिएका कार्य गैरकानूनी भएको भन्दै उक्त कार्य तत्काल रोक लगाउने समेत जिकिर गरे।

बिहीबार बिहान पनि ठेकेदार कम्पनीले करिब १० ठाउँमा जमीनभन्दा २५/३० फिट मुनी गएर बालुवा उत्खनन् गरिरहेको थियो । तर स्थानीयको कडा विरोधपछि तत्काल ती स्थानमा डोजर लगाएर सम्याउने काम भएको थियो । 

Skip This
Skip This
Logo