त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर २१७ रन बनायो। विश्व कीर्तिमान बनाउने क्रममा रहेका प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल पाँचौँ ओभरको पहिलो बलमा नै मुहम्मद वफिकका बलमा क्याच आउट भए। उनले १२ बल खेल्दै दुई छक्काका मद्दतमा १६ रन बनाए। यसअघिका तीन खेल (नेदरल्याण्डस, मलेसिया) मा लगातार अर्धशतक प्रहार गरी विश्व कीर्तिमान बनाएका भुर्तेल थप नयाँ कीर्तिमान बनाउनबाट भने चुकेका छन्।
नेपालको पारिलाई कप्तान ज्ञानेन्द्र मल्ल र प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले सम्हाले। दुवै जनाबीच ७३ रनको साझेदारी भयो । सो क्रममा शेखले ४२ रनको योगदान दिए। उनले ३३ बल खेल्दै तीन छक्का र तीन चौका हाने। यस्तै कप्तान मल्लले २५ बलमा एक छक्का र चार चौका हान्दै ४१ रनको योगदान दिए।
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाए। उनले १७ बलमा एक छक्का र पाँच चौका हाने। यस्तै करण केसीले उत्कृष्ट ब्याटिङ गरे। उनले मात्र १३ बलमा ४५ रनको योगदान दिए। सो क्रममा केसीले सात छक्का प्रहार गरे। यस्तै कुशल मल्लले अविजित १९ रन बनाए।
बलिङतर्फ मलेसियाका लागि फित्री साम, अनवर रहमान र सयद अजिजले दुईदुई तथा मुहम्मद वफिकले एक विकेट लिए। अहिले मलेसियाले जवाफी ब्याटिङ गरिरहेको छ। मलेसियाले केही बेरअघिसम्म ९ ओभरमा ५ विकेट गुमाउँदै ७२ रन बनाएको छ। नेपालका लागि २ विकेट सोमपाल कामीले लिए। मलेसियाका लागि आजको खेल औपचारिकता मात्र हो। सिरिजको पुछारमा रहेको मलेसिया प्रतियोगिताबाट बाहिरिसकेको छ। नेपाल यसअघि नै फाइनलमा प्रवेश गरेको छ।





























प्रतिक्रिया