इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज आइतबार दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदैंछ।
नेपाली युवा खेलाडी सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सलाई प्लेअफ पुग्ने मौका मिलेको छ। आईपीएल अन्तर्गत आइतबार हुने पहिलो खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको खण्डमा लिगमा शीर्ष स्थानमा रहँदै प्लेअफ पुग्ने मौका पाउनेछ।
तेस्रो स्थानको दिल्लीको ११ खेलबाट १४ अंक रहेको छ। यदि आजको खेलमा दिल्लीले पुछारको टोली रोयल च्यालेन्जर्स बैंलोरलाई हराएको खण्डमा सात वर्षपछि पहिलो पटक प्लेअफ पुग्नेछ । यसअघि दिल्ली सन् २०१२ मा पछिल्लो पटक प्लेअफ पुग्ने मौका पाएको थियो।
१२औं संस्करणमा उपाधिको मुख्य दाबेदार दिल्ली यसपटक नयाँ नाम र नयाँ जर्सीसहित मैदानमा उत्रिएको हो।
यता बैंगलोर पनि घरेलु टोलीलाई पराजित गर्दै अंक तालिका सुधार गर्न चाहन्छ। लिगको पुछारमा रहेको बेंग्लोरले ११ खेलमध्ये ७ खेलमा हार ब्यहोरको छ भने चार खेलमा मात्रै जित हात पारेर ८ अंक जोडेको छ।
तर दिल्लीले सन् २०११ देखि यता घरेलु मैदानमा बैंलोरलाई हराउन सकेको छैन। सन् २०११ पछि हालसम्म दिल्ली र बैंगलोरबीच कोटला मैदानमा भएका सबै ६ प्रतियोगिता बैलोरले जितेको छ।
सन्दीपको सम्भावना कति ?
आजको खेलमा दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई मैदान उतार्ने सम्भावना छ। सन्दीपले यस सिजन ५ खेलमा ८ विकेट हात पारिसकेका छन्। पछिल्लो पटक उनले किंग्स इलाभेन पञ्जाबविरुद्धको खेलमा खेलेका थिए। जुन खेलमा उनले तीन विकेट लिन सफल पनि भए।
प्रकाशित: १५ बैशाख २०७६ १३:५७ आइतबार