राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण आजबाट

राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण आजबाट

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ। फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टिमले मंगलबारबाट प्रशिक्षण थाल्न लागेका हुन् ।

एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ। नेपाल भलिबल संघ (एनभीए) ले टिमको बन्द प्रशिक्षण त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने जनाएको छ। कोरोना महामारीलाई मध्यनजर गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर प्रशिक्षण गरिने संघले जनाएको छ।

यस अघि जेठ २१ गतेबाट सुरु गर्ने भनिएको प्रशिक्षण निषेधाज्ञाका कारण सबै खेलाडी काठमाडौं आइनपुग्दा संघले प्रशिक्षण केहि समयका लागि स्थगित गरेको थियो। संघले चैतमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ।

संघका उपाध्यक्ष निरोज मास्केसहित नेपाली टिमका प्रशिक्षक जगदिश भट्ट र प्रज्वलबहादुर सिंहको छनोट समितिले ३० खेलाडी छनोट गरेको हो। जसमा पाँच बैकल्पिक खेलाडीसमेत राखिएका छन्। संघले टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी भट्ट तथा र ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठलाई दिएको छ। 

संघले बोलाएको प्रारम्भिक टिममा बिनिता बुढाथोकी र नेविका चौधरी परेकी छैनन्। आर्मीका कप्तान कृपा अधिकारीले २ वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक टिममा स्थान बनाएकी छिन्। न्यु डायमण्ड स्पोर्ट्स क्लबका बाल्मिका आचार्य, झरना श्रेष्ठ, रिया कुँवर र रिमा कँुवर पहिलो पटक बन्द प्रशिक्षणमा परेका छन्।

संघले बैकल्पिक खेलाडीमा भरतपुरकै आरती सुवेदी, निशा चौधरी, डायमण्डकी प्रगती नाथ, ढोरपाटनबाट पुष्पा शाही र नेपाल पुलिसबाट पुष्पा चौधरीलाई राखेको छ। प्रशिक्षणमा आर्मीबाट सर्वाधिक ८ खेलाडी पर्दा डायमण्ड, पुलिस र एपीएफबाट समान ७–७ खेलाडी परेका छन् । यस्तै भरतपुर मेट्रोबाट एक खेलाडी परेका छन्।

Skip This
Skip This
Logo