हंगेरीलाई ३-० ले हराएका रोनाल्डोले कोकाकोलालाई ४ खर्ब रूपैयाँले हराए

हंगेरीलाई ३-० ले हराएका रोनाल्डोले कोकाकोलालाई ४ खर्ब रूपैयाँले हराए


मंगलबार युरोकपको समूह चरणअन्तर्गत हंगेरीविरूद्धको खेलमा २ गोल गर्दै कप्तान क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई ३-० को विजयी सुरुवात दिलाएका छन्। तर, खेल अघिको पत्रकार सम्मेलनमा आफ्नो अगाडि टेबलमा राखिएको कोकोकोलाको बोतल रोनाल्डोले हटाएपछि त्यसको असर कोकाकोलाको शेयर मूल्यमा देखिएको छ। 

उनले ‘आग्वा’ (पानीका लागि पोर्चुगिज शब्द) उच्चारण गर्दै कोकाकोलाका बोतल क्यामेराको फ्रेमभन्दा बाहिर राखेका थिए। उनको त्यस गतिविधीलाई कोकाकोलाको बदला पानीको प्रवद्र्धन गरेको रूपमा बुझियो। कुनै वाक्य प्रयोग नगरी उनले संकेतको भरमा कोकाकोला नपिउन सन्देश दिएका हुन्। मंगलबार सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोले एक दिनमै कोकाकोला कम्पनिलाई ४ अर्ब अमेरिकी डलर बराबरको क्षति पुर्याएको हो। उनको अभिव्यक्तिपछि कोकाकोलको बजार मूल्य मंगलबार २४२ अर्ब अमेरिकी डलरबाट २३८ अर्ब अमेरिकी डलरमा झरेको थियो। 

रोनाल्डोको अभिव्यक्ति र त्यसको प्रभावप्रति प्रतिक्रिया जनाउँदै कोकाकोला कम्पनीले सबैको आफ्नै स्वाद र आवश्यकता अनुसार आफ्ना लागि पेय पदार्थ छान्न पाउने बताएको छ। कोकाकोला युरोकप २०२० को स्पोन्सर हो। कोकाकोलाले सन् १९८८ देखि युरोकपलाई स्पोन्सर गर्दै आइरहेको छ। स्पोन्सरसीप अन्तर्गतको प्रवद्र्धनका लागि टेबलमा राखिएको कोकाकोलाका दुई बोटल रोनाल्डोले हटाएका हुन्। 

फुटबलमा आफ्नो करियर सुरु गर्दै गर्दा कोकाकोलाका लागि एक विज्ञापनमा पनि समावेश भएका थिए। कोकाकोलाप्रति उनको अभिव्यक्तिलाई कोकाकोलासँगको उनको पुरानो सहकार्यसँग जोडेर आलोचना पनि भइरहेको छ। 

३६ वर्षीय रोनाल्डो खानपान र व्यायामका विषयमा सजग छन्। उनले आफ्ना सन्तानलााई कोकाकोला जस्ता पेय पदार्थ र चकलेट खान बन्देज लगाएका छन्। उनले नियमित रक्तदान गर्ने भएकाले शरीरमा ट्याटु नबनाएको पनि बताएका थिए।

Logo