कुन-कुन हुन्, युरोकप जित्न सक्ने दाबेदार सात देश? (भिडियोसहित)

कुन-कुन हुन्, युरोकप जित्न सक्ने दाबेदार सात देश? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

युरोकप २०२० को १६ औँ संस्करण सुरु भइसकेको छ। युरोकप २०२० मा २४ राष्ट्रको सहभागिता रहेको छ । सबै टिमलाई ४/४ गरेर ६ समूहमा विभाजन गरिएको छ। प्रतियोगिता ११ जुलाई अर्थात् असार २७ सम्म चल्नेछ । 

यसपाली फिफा विश्वकप २०१८ को विजेता फ्रान्स, इटाली, स्पेन र जर्मनी यस्तै युरोकप साबिक बिजेता पोर्चुगल त्यस्तै स्टार खेलाडीले भरिएको बेल्जियम र इङ्ल्यान्डको टिम दर्शकको नजरमा परेका टिमहरु हुन् । 

यसअघिको युरोकप उपाधि जित्ने टिमको कुरा गर्नु पर्दा जर्मनी र स्पेनले अहिलेसम्म सर्वाधिक तीन–तीन पटक जितेका छन् । त्यस्तै फ्रान्सले दुई पटक उपाधि जितेको छ। सोभियत युनियन, इटाली, चेकोस्लोभाकिया, नेदरल्यान्डस्, डेनमार्क, ग्रिस र पोर्चुगलले एक–एकपटक उपाधि जितेका छन्। यद्यपि, युरोकप २०२० कुन टिमले जित्ला भन्ने सबैको चासोको विषय बनेको छ। त्यसैले आज हामी  युरोकप २०२० जित्न सक्ने ७ टिमका बारेमा चर्चा गर्न गइरहेका छौं।

१. फ्रान्स 
सन् २०१८ फिफा विश्वकप बिजेता फ्रान्सलाई युरोकप २०२० को प्रवल दाबेदार मानिएको छ। टिम स्टार तथा विश्वकप खेलेका अनुभवी खेलाडीले भरिएको छ। समूह एफमा रहेको फ्रान्स टिममा केईलियन एमबाप्पे, करिम बेन्जेमा, पल पोग्बा, ओलिवर गिरूड, एन्टोनियो ग्रीजम्यान, बेन्जामिन पावार्ड, विसम बेन येडर, उस्मान डेम्बेले, मार्कस थुर्रम, किङ्सले कोमान, एन गोलो कान्ते, थोमस लेमर, एड्रियन रुबियोट, मौसा सिसोको, कोरेन्तिन टलिसो, लुकास डिग्ने जस्ता स्टार खेलाडी समावेश छन्। 

फ्रान्स सन् १९८४ र २००० मा दुई पटक युरोकप च्याम्पियन बनिसकेको छ। यस्तै सन् १९९४ विश्वकपपछि फ्रान्सले फिफाका हरेक मुख्य प्रतियोगिताका छनोट खेल खेलेको छ। युरोकप २०२० क्वालिफायर्समा फ्रान्सले १० खेलमध्ये ८ खेल जित्दा एक खेल बराबरी र एक खेलमा हार व्यहोरेको थियो।

प्रशिक्षक दिदिएर डेसच्यान्प्सले फ्रान्सलाई १९९८ विश्वकप र युरो २००० मा कप्तानी गर्दै जित दिलाएका थिए । उनी सन् २०१२ मा प्रशिक्षक बनेपछि २०१८ को वल्र्डकप जिताएका थिए भने अब युरो कप जिताए डब्बल ट्रफी हात पार्न चाहन्छन्।

२. स्पेन 
स्पेन युरोकपमा लगातार दुई पटक युरोकपको ट्रफी बिजेता टिम हो । स्पेनले सन् २००८ र २०१२ मा लगातार युरोकपको उपाधी आफ्नो पोल्टामा पारेको थियो । यसबाहेक सन् १९६४ मा पनि स्पेनले युरोकप जितेको थियो । २०१६ मा भने स्पेनले राउन्ड अफ १६ मा हारको सामना गर्नुपर्यो । इटालीसँग २–० गोलअन्तरले पराजित भएको थियो । यद्यपि त्यो टिमका धेरैजसो खेलाडीले सन्यास लिइसकेका छन्। समूह ई मा रहेको स्पेनमा यो वर्ष सबै नयाँ खेलाडीहरु रहेका छन् । तर, उनीहरू सबै प्रतिभाशाली देखिन्छन् ।

टिममा टिएगो अलकान्तारा, डिएगो लोरेन्टे, पाब्लो सरयिबा, पाउल टोरेस, पेड्री, कोके जस्ता केही अनुभवी खेलाड़ीहरु छन् । यस्तै आफ्नो खेल करियरको सबैभन्दा शानदार फर्ममा चलिरहेका जेरार्ड मोरेना टिमका लागि महत्वपूर्ण खेलाडी हुन् । छनोट खेलमा स्पेनले १० मध्ये ८ खेल जितेको थियो भने दुई खेल बराबरी खेलेको थियो।

३. इटाली 
सन् १९६८ मा इटालीले पछिल्लो पटक युरोकपको ट्रफी चुमेको थियो। त्यसपछि इटाली सन् २००० र २०१२ मा रनर–अप बनेको थियो । २०१६ को युरोकपमा इटाली क्वार्टर फाइनलमा जर्मनीसँग पराजित भएको थियो । खेल १–१ को बराबरीमा टुङ्गिएपछि जर्मनीले पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराएको थियो । त्यसैले यसपाली यो टिम दोस्रो पटक ट्रफी जित्ने योजनामा छ। 

समूह ए मा रहेको इटाली शानदार फर्ममा छ । युरो छनोटका १०  खेलमा १० खेलमै जितेको थियो। इटालीले आफ्नो छनोट खेलमा आर्मेनियालाई ९–१ गोल अन्तरले हराएर टुंग्याएको थियो। योसँगै इटालीले एक वर्षमा १० भन्दा धेरै जीत निकाल्ने रेकर्ड पनि बनाएको छ। 

इटालीमा मिडफिल्डर निकोलो बरेला, एन्ड्रिया बेलोत्ती, डोमेनिको बेरार्डी, सिरो इमोबिल, लोरेन्जो इन्सिग्ने, जियाकोमो रास्पडोरी, ब्रायन क्रिस्तान्ते, जोर्जिन्हो, म्यानुअल लोकातेली, लोरेन्जो पेलेग्रिनी, स्टेफानो सेन्सी, फ्रान्सेस्को एसरबी, लियोनार्डो जस्ता अनुभवी खेलाडीहरु रहेका छन्। 

४. इङ्ल्यान्ड 
सन् २०१८ फिफा विश्वकपको सेमिफाइनलिस्ट इङ्ल्यान्डको टिम युरोकप २०२० जित्न सक्ने प्रबल दाबेदार टिम हो। टिमले आफ्ना सबै समूह खेल लन्डनको वेम्बली स्टेडियममा खेल्नेछ। युरोकप क्वालिफायर्समा इङ्ल्यान्डले ८ मध्ये ७ खेलमा आफ्नो जीत लेखाएका छ। एक खेलमा भने हार बेहोरेको थियो।

समूह डी मा रहेको इङ्ल्यान्डले अहिलेसम्म एक पटक पनि युरोकप जित्न सकेको छैन। सन् १९६८ मा भने तेस्रो स्थान बनाएको थियो । सन् २०१६ मा इङ्लिस टिम राउन्ड अफ–१६ मा आइसल्यान्डसँग २–१ गोल अन्तरले हारेको थियो । यद्यपि, यस पटक भने, युवा  र अनुभवी खेलाडीले भरिएको यस टिमले राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ । टिमसँग ह्यारी केनजस्ता उत्कृष्ट कप्तान त्यस्तै रहिम स्टर्लिङ, बुकायो साका, ज्याडेन सान्चो, फिल फोडेन, ज्याक ग्रिलिस, मेसन माउन्ट, केल्भिन फिलिप्स, डेक्कन राइस, बेन चिलवेल, कोनर कोडी जस्ता प्रतिभाशाली खेलाडी छन्। 

४. पोर्चुगल
यसपाली युरोकपको साबिक बिजेता पोर्चुगललाई हराउने सबै टिमको पहिलो लक्ष्य हुनेछ । पोर्चुगलले २०१६ मा फ्रान्सलाई हराएर च्याम्पियन बनेको थियो । टिममा क्रिस्टियानो रोनाल्डोजस्ता चमत्कारी कप्तान र स्टार स्ट्राइकर छन् । समूह एफ मा रहेको पोर्चुगलले युरोकप क्वालिफायरमा कुल ८ खेलमा ५ खेल जितेको थियो भने १ खेलमा हार बेहोरेको थियो । यस्तै दुई खेल भने बराबरी खेलेको थियो । 

पोर्चुगलका स्टार खेलाडी रोनाल्डो युरोकप क्वालिफायर टिममा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । यस्तै रोनाल्डो बाहेक जोआओ फेलिक्स, डिओगो जोटा, आन्द्रे सिल्वा, राफा सिल्वा, ब्रुनो फर्नान्डिस, विलियम कार्वाल्हो, डैनिलो, रूबेन नेव्स, सर्जियो ओलिवेरा जस्ता खेलाडीले पोर्चुगलको लागि दोस्रो पटक च्याम्पियन बनाउन मद्दत गर्न सक्छन् । 

६. बेल्जियम 
फिफाको विश्व बरियतामा पहिलो स्थानमा रहेको फुटबल टिम बेल्जियम यो पटक पहिलो युरोकप उचाल्न सक्ने होडमा छ । यस टिमले शानदार प्रदर्शन गरिरहेको छ । बेल्जियमले युरोकप छनोट खेलका १० मध्ये १० म्याचमा जीत हासिल गरेको थियो । २०१६ को युरोकपमा बेल्जियम क्वार्टरफाइनलसम्म पुगेको थियो । 

समूह बी मा रहेको यस टिममा यसपटक केही शानदार प्लेमेकर र स्ट्राइकरहरु छन् । बेल्जियमका केभिन डी ब्रुइन टिमका लागी महत्वपूर्ण खेलाडी हुन् । २०१९ र २० यूईएफए च्याम्पियन्स लिग सिजनमा उनी मिडफिल्डर अफ द सिजन रहेका थिए । यस्तै रोमेलु लुकाकु, युरी तिलमान्स, क्रिस्टियन बेन्टेके, जेरेमी डोकु, थोमस मुनिए, लिएन्डर डेन्डोनकर, थोर्गन ह्याजार्ड जस्ता स्टार खेलाडी यस टिममा छन् । जसले गर्दा कुनै बेला खेलमा बाजी मार्न सक्छन् । त्यस्तै टिममा थिबोट कोर्टोइस जस्ता अनुभवी तथा स्टार गोल रक्षक पनि छन् । जो उत्कृष्ट गोलरक्षकका रूपमा परिचित छन् । 

बेल्जियमले सन् १९८० मा उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यतिबेला यो टिम रनर–अप बनेको थियो । २०१६ मा रोबर्टो मार्टिनेजलाई प्रशिक्षक बनाएपछि फेरि टिमले शानदार प्रदर्शन गर्दै आएको छ । त्यसैले यसपटक आशा गर्न सकिन्छ कि यस टिमले पहिलो ट्रफी जित्न सक्छ भन्नेमा ।

७. जर्मनी 
विश्वकप फुटबलमा ८ पटक फाइनल यात्रा अनि त्यसमा चारपटक विजेता टिम हो जर्मनी । यसरी धेरै पटक विश्वकपको फाइनलमा पुग्ने टिम जर्मनी मात्रै हो । फाइनलमा मात्र होइन, सेमिफाइनलमा पुग्ने टोलीमा पनि जर्मनी शीर्षस्थानमा छ । जर्मनी हालसम्म सर्वाधिक १३ पटक सेमिफाइनल पुगेको छ । यति मात्र होइन जर्मनी युरोकपको समेत ३ पटक बिजेता बनिसकेको छ । यस तथ्यांकले पनि प्रष्ट पार्छ कि यस पटकको युरोकपमा पनि जर्मनी उपाधि दाबेदार रहन्छ भन्ने। 

युरोकप २०२० को समूह एफ मा रहेको जर्मनीले पहिलो चरणमै साविक विजेता पोर्चुगल र साबिक विश्वकप विजेता फ्रान्ससहित हंगेरीको सामना गर्नु पर्नेछ । जर्मनी सन् १९९६ यता पहिलोपटक युरोकप जित्ने प्रयासमा छ। युरोकप हालसम्म १२ पटक खेलेको जर्मनी त्यसमा ६ संस्करणमा फाइनल पुगेको छ भने तीनपटक सेमिफाइनलसम्म पुगेको छ। त्यसैले जर्मनी यसपटक पनि स्वाभाविक उपाधि दाबेदारका रुपमा रहेको छ। 

जर्मनीमा यसपटक जर्मनीका लागि एक सय पटकभन्दा बढी खेलिसकेका थोमस मुलर र टोनी क्रुज टोलीमा छन्। यस्तै टिममा टिमो वेर्नर, काई हाभार्ट्ज, एन्टोनियो रुडिगर, इके गुन्डोगान, बेर्नर, सर्जी जिनाब्री, मार्को रेउस छन् भने कप्तान तथा अनुभवी गोलरक्षक म्यानुयल नुयर पनि रहेका छन् । गोलरक्षक नुयरकै नेतृत्वमा जर्मनीले सन् २०१४ को विश्वकप जितेको थियो। 

Logo