जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (आइतबार) दुई खेलहरु मात्रै हुँदैछन् । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको युरोकपको समूह चरण अन्तर्गत आज समूह ए का दुई खेल हुनेछ। आजको दुबै खेल एउटै समयमा हुनेछ। खेल राति ९ः४५ बजे सुरु हुनेछ।
जसमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्नेछन् । रोममा इटालीले घरेलु मैदान स्टाडियो ओलिम्पिकको रंगशालामा वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । आज इटाली लगातार तेस्रो जीत निकाल्ने योजनामा रहेको छ । अघिल्ला दुई खेलमा जीत निकालेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ । त्यसैले इटाली तेस्रो खेल जित्दै समूह विजेता बन्न चाहन्छ । इटालीले २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो । यस्तै दोस्रो खेलमा इटालीले स्वीजरल्याण्डलाई ३–० गोल अन्तरले नै हराएको थियो ।
वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । वेल्सका लागि यो खेल महत्वपूर्ण रहेको छ । वेल्सले २ खेलमा ४ अंक जोडेको छ । वेल्स समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा स्वीजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
यसै समूहको अर्को खेलमा स्वीजरल्याण्ड र टर्कीबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । स्वीजरल्याण्ड आज पहिलो जीतको खोजीमा हुनेछ । स्वीजरल्याण्ड जीत निकाल्दै नकआउट चरणको ढोका खोल्न चाहन्छ। स्वीजरल्याण्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्वीजरल्याण्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो।
यता टर्की भने पहिलो अंकको खोजीमा हुनेछ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन। पहिलो खेलमा इटालीसँग पराजित टर्की दोसो खेलमा वेल्ससँग पराजित भएको थियो।































प्रतिक्रिया