युरोकपमा आज दुई खेल हुँदै, कुन टिमको भिडन्त को सँग?

युरोकपमा आज दुई खेल हुँदै, कुन टिमको भिडन्त को सँग?

केन्द्रबिन्दु
0
Shares

जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) दुई खेलहरु हुँदैछन्। युरोपको विभिन्न ११ शहरमा आयोजना भइरहेको युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत सोमबार राति स्पेन र क्रोएसिया तथा फ्रान्स र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। 

डेनमार्कको पार्केन एरिनामा हुने आजको पहिलो खेलमा स्पेन र क्रोएसिया भिड्नेछन् । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । आज दुबै टिम जीत निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन् ।

स्पेनले समूह ई बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणको पहिलो खेलमा स्पेन स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो खेलमा पनि पोल्याण्डसँग १–१ गोलको बराबरी खेलेको स्पेनले समूह चरणको अन्तिम खेलमा स्लोभाकियालाई ५–० गोल अन्तरले पराजित गरेको थियो । स्पेनले ३ खेलमा ५ अंक जोडेको थियो।

यता, क्रोएसियाले पनि समूह डी बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको थियो। पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा चेक रिपब्लिकसँग १–१ गोलको बराबरी खेलेको क्रोएसियाले समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डमाथि ३–१ गोलको जीत निकालेको थियो । क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो।

स्पेन र क्रोएसियाबीच मुख्य प्रतियोगितामा तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस अघिको दुई भेटमा दुबै टोलीले एक एक खेल जितेका छन्। 

यस्तै आजै हुने अर्को खेलमा फ्रान्स र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। रोमानियाको नेसनल एरिनामा हुने दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज दुबै टिम जीत निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन्।

साविक उपविजेतासमेत रहेको फ्रान्सले ३ खेलमा ५ अंक जोड्दै समूह एफको विजेता बनेर नकआउट चरणमा पुगेको हो। समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले हराएको थियो । तर, दोस्रो खेलमा फ्रान्स हंगेरीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो। यस्तै अन्तिम खेलमा पनि फ्रान्स पोर्चुगलसँग २–२ गोलको बराबरीमा रोकिएको थियो। 

यता, स्विट्जरल्यान्डले समूह ए बाट नकआउट चरणमा स्थान बनाएको हो। समूहको उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको स्विट्जरल्यान्डले ३ खेलमा ४ अंक जोएको थियो।

समूह चरणको पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको स्विट्जरल्यान्ड दोस्रो खेलमा इटालीसँग ३–० ले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३–१ गोल अन्तरले हराएको थियो।

दुई टिमबीच मुख्य प्रतियोगितामा पाँचौं पटक भिड्न लागेका हुन्। पछिल्लो खेलको नतिजा हेर्दा फ्रान्स बलियो देखिएको छ। 

Logo