ब्राजिलियन फुटबल टिमका ‘एक्का’ नेमार

ब्राजिलियन फुटबल टिमका ‘एक्का’ नेमार


सन् २०१४ को फुटबल विश्वकप ब्राजिलका समर्थकले सम्भवतः कहिल्यै पनि भुल्ने छैनन्। विश्वकप आयोजक पनि रहेकाले घरेलु मैदानको सक्दो फाइदा उठाउँदै ब्राजिलले विश्वकप उचाल्ने अपेक्षा फ्यानहरूले गरेका थिए। पुरै टुर्नामेन्टमा एक खेल पनि नहारी सेमिफाइनलसम्म पुगेको ब्राजिल आफ्ना दुई मुख्य खेलाडीबिनै मैदानमा उत्रियो। 

डिफेन्डर थियागो सिल्भा प्रतिबन्धित भएका थिए भने फर्वार्ड नेमार ढाडमा भएको चोटपटकका कारण उपस्थित हुन सकेनन्। परिणामस्वरूप ब्राजिलको विश्वकप यात्रा त्यहीँ रोकियो। जर्मनीले ब्राजिललाई ७–१ को भारी अन्तरले पराजित गर्यो। यसलाई एक हार मात्रै नभई राष्ट्रिय अपमानको रूपमा पनि त्यसबेला व्याख्या गरिएको थियो। 

त्यस्तै सन् २०१५ को कोपा अमेरिकामा पनि नेमार सहभागी हुन सकेनन्। उनको क्लब बार्सिलोनाले उनी सन् २०१६ को ओलम्पिकमा सहभागी भए पनि कोपा अमेरिकामा सहभागी नहुने बताएसँगै उनी सहभागी हुन नसकेका हुन्। उनको उपस्थिति नरहेको ब्राजिल कोपा अमेरिकाको समूह चरणबाटै बाहिरियो। क्लबको अनुमति अनुरुप नेमार ओलम्पिकमा भने सहभागी भए।

फाइनलमा २०१४ को विश्वकप विजेता जर्मनीसँग ब्राजिल भिड्यो। नेमारले २७ औँ मिनेटमा गरेको गोल जर्मनीका मेयेरले ५९ औँ मिनेटमा फर्काएपछि खेल बराबरीमा टुंगियो। नेमारले ब्राजिलका लागि पेनाल्टी सुटआउटमा निर्णायक गोल गरेर स्वर्ण दिलाए। नेमार एक हिसाबले जर्मनीसँग २०१४ मा ब्राजिलले खेपेको हारको जवाफ दिन पनि सफल भए। 

सन् २०१९ को कोपा अमेरिकामा खुट्टामा लागेको चोटका कारण नेमार सहभागी हुन नसके पनि ब्राजिलले राम्रो प्रदर्शन गरेर उपाधि जित्न सफल भएको थियो।  

ब्राजिलियन फुटबल टिम आफैंमा सशक्त रहेकाले राम्रो प्रदर्शनको अपेक्षा सधैँ गर्न सकिन्छ। यद्यपि, नेमारको अनुपस्थितिमा ब्राजिलियन फुटबल टिमले व्यहोरेको लज्जास्पद हार नेमार टिमका लागि कति महत्वपूर्ण छन् भन्ने स्पष्ट पारिसकेको छ। ब्राजिलियन फुटबलको सुनौलो युग समाप्त भएको बताइँदै गर्दा नेमार एक आशाको केन्द्र पनि भएका छन्। 

राष्ट्रिय टिममा व्यक्तिगत योगदान हेर्ने हो भने पनि नेमार फुटबल जगतमा अहिलेसम्मकै सबैभन्दा ठूला खेलाडी पेलेलाई पछ्याइरहेका छन्। १८ वर्षको उमेरमा ब्राजिलियन फुटबल जगतमा आधिकारिक प्रवेश गरेका नेमारले ब्राजिलका लागि १०८ खेल खेल्दै ६८ गोल गरिसकेका छन्। 

पछिल्लो सिजनमा मात्रै उनले पिएसजीका लागि ४२ खेल खेल्दै २८ गोल गरेका थिए। सन् २०२० को च्याम्पियन्स लिगमा पिएसजीलाई युरोपका फुटबल क्लबहरूको महासंग्राम च्याम्पिन्स लिगमा पहिलो पटक फाइनलसम्म पुर्याउन नेमार सफल भए।

७७ गोलसहित पेले ब्राजिलका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्। कोपा अमेरिका २०२१ को समूह चरणमा पेरुविरुद्धको खेलमा गोल गरेर ब्राजिललाई जिताएपछि नेमारले आफ्नो रेकर्ड तोडेको हेर्ने इच्छा भएको फुटबल सम्राट पेलेले बताएका थिए। 

नेमारलाई उनको फुटबल करियरको सुरुआतदेखि नै पेले, रोनाल्डो र रोनाल्डिन्हो जस्ता ब्राजिलियन फुटबलका हस्तीको उत्तराधिकारीका रूपमा हेरिँदैछ। उनले आफ्नो तर्फबाट सक्दो प्रयास पनि गरिरहेका छन्। सन् २०१६ मा ब्राजिललाई ओलम्पिकमा फुटबलतर्फको स्वर्ण जिताउँदा उनी कप्तानको भूमिकामा थिए।

ब्राजिलले ५ विश्वकप जितेको भए पनि ओलम्पिकमा स्वर्ण नजित्दा केहि नपुगेजस्तो देखिन्थ्यो। नेमारले दिलाएको जीतले त्यसलाई पनि पूर्णता दियो। 

ब्राजिलियन क्लब सान्तोसका लागि १७ वर्षको उमेरमा खेल्न सुरु गरेका नेमारले उक्त क्लबलाई ब्राजिलियन क्लबहरूको मुख्य टुर्नामेन्ट कोपा डो ब्राजिल र कोपा अमेरिकाको सञ्चालक कोनमेबोलले नै सञ्चालन गर्ने दक्षिण अमेरिकी क्लबहरूको टुर्नामेन्ट कोपा लिबर्टाडोर्स जिताए। उनले सन् २०११ र २०१२ मा उत्कृष्ट दक्षिण अमेरिकी फुटबल खेलाडीको उपाधि पनि पाएका थिए। सन् २००८ र २०१३ का बीच उनले सान्तोसका लागि १७७ खेल खेल्दै १०७ गोल गरेका थिए। २०१३ देखि व्यावसायिक स्पेनिस फुटबल क्लब बार्सिलोनाका लागि खेल्न थाले। त्यहाँ उनी लियोनल मेस्सी र लुइस स्वारेजसँगै बार्सिलोनाको अघिल्लो पंक्ति सम्हाल्न थाले। उनले यी दुईसँगको सहकार्यमा बार्सिलोनालाई लालिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जिताए। 

सन् २०१७ मा उनलाई २२ करोड युरोको खर्चमा फ्रेन्च क्लब पेरिस सान जर्मान (पिएसजी) ले भित्र्यायो। यो व्यावसायिक फुटबलमा अहिलेसम्मकै महँगो ट्रान्सफर हो। उनले पिएसजीलाई तीन लिग टाइटल, तीनवटा कप डि फ्रान्स र दुई कप डि लालिग जिताएका छन्। पिएसजीलाई एकै सिजनमा चार ट्रफी जिताउने खेलाडीका रूपमा पनि उनको नाम दर्ज भएको छ।   

पछिल्लो सिजनमा मात्रै उनले पिएसजीका लागि ४२ खेल खेल्दै २८ गोल गरेका थिए। सन् २०२० को च्याम्पियन्स लिगमा पिएसजीलाई युरोपका फुटबल क्लबहरूको महासंग्राम च्याम्पिन्स लिगमा पहिलो पटक फाइनलसम्म पुर्याउन नेमार सफल भए। यद्यपि, त्यस रोचक फाइनलमा बेयर्न म्युनिखसँग पिएसजी १–० ले पराजित भयो। 

कुनै समय फुटबलबाट बाहिरिने विचार आएको बताउने नेमार कोपा अमेरिका २०२१ मा राम्रो प्रदर्शन गर्दैछन्। छिटो, छरितो र प्रतिद्वन्दीहरूले बल खेस्न जोड लगाउनुपर्ने खालको खेल खेल्ने नेमार पटकपटक चोटबाट ग्रस्त हुने गर्छन्। कोपा अमेरिकाको यस ४७ औँ संस्करणमा उनलाई स्वास्थ्यले पनि राम्रो साथ दिएको छ। तीन खेलमा सहभागी भएका नेमारले २ गोल गरिसकेका छन्। उनी अनुपस्थित रहेको इक्वेडरसँगकोे समूह चरणअन्तर्गतको अन्तिम खेलमा ब्राजिल १–१ को बराबरीमा रोकियो। ब्राजिलले समूह चरणमा जित्न नसकेको यो एउटा मात्र खेल हो। 

क्वार्टरफाइनलका लागि छनोट भइसकेको ब्राजिलले आफ्नो ‘एक्का’ लाई इक्वेडरसँगको खेलमा उतार्नु आवश्यक नठानेकाले यस्तो नतिजा आएको हो। अर्जेन्टिना र कोलम्बियालाई कोपा अमेरिका आयोजकका रूपमा छनौट गरिएको भए पनि यी देशहरूमा कोभिड–१९ को उच्च जोखिम भएकाले हाल ब्राजिलमा आयोजना भइरहेको छ। 

घरेलु मैदानसँगको चिनजानले ब्राजिललाई एक किसिमको उर्जा त दिएको छ नै। यसरी धेरै कुराले ब्राजिललाई साथ दिएको अवस्थामा ब्राजिलियन फुटबल समर्थकले आफ्ना सबैभन्दा महत्वपूर्ण खेलाडीबाट उपाधीको अपेक्षा गरिरहेका छन्। आशा गरौँ, नेमार उनका समर्थकको विश्वास कायम गर्न सफल हुनेछन्।

Logo