जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल खेलहरु आज (शुक्रबार) बाट सुरु हुँदैछ। युरोपको विभिन्न ११ शहरमा आयोजना भइरहेको युरोकप अन्तर्गत आज क्वाटरफाइनलका दुई खेल हुनेछन्। पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दा दोस्रो खेलमा बेल्जियम र इटाली प्रतिस्पर्धा गर्नेछन्।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा हुने स्विट्जरल्यान्ड र स्पेनबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ। पहिलो क्वाटरफाइनलमा मैदान उत्रदा दुबै टिमको नजर सेमिफाइनलमा पुग्नु हुनेछ। त्यसका लागि दुवै टिम जीत निकाल्ने होडमा हुनेछन्।
स्विट्जरल्याण्ड साविक उपविजेता फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । प्रि–क्वाटरफाइनलमा स्विट्जरल्यान्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो।
यता, तीन पटकको च्याम्पियन स्पेनले भने विश्वकप उपविजेता क्रोएसियालाई हराएर अन्तिम आठको यात्रा तय गरेको हो। प्रि–क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित गरेको थियो।
स्विट्जरल्यान्ड र स्पेनबीच युरोपियन च्याम्पियनसिपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । विश्वकपमा भने यी दुई टिमले तीन पटक खेलेका छन्। जसमा स्पेनले दुई जीत निकाल्दा एक जीत स्विट्जरल्यान्डको पक्षमा गएको छ।
दुई टिमबीच अहिलेसम्म २२ पटक प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १६ खेल जितेको छ । पाँच खेल बराबरीमा सकिँदा एक खेल स्विट्जरल्यान्डले जितेको छ। जर्मनीको एलिनाज स्टेडियममा आजै हुने दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियम र इटालीबीच प्रतिस्पर्धा हुनेछ। दुईबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ।
उपाधि दाबेदार बेल्जियम र इटाली दुबै टिम जीत निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । फिफा वरीयताको शीर्ष स्थानको बेल्जियमले साविक विजेता पोर्चुगललाई हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको हो । प्रि–क्वाटरफाइनलमा बेल्जियमले पोर्चुगललाई १–० गोल अन्तरले पराजित गरेको थियो।
यता इटालीले भने, क्वाटरफाइनलमा प्रवेश गर्ने क्रममा अष्ट्रियालाई हराएको थियो । प्रि–क्वाटरफाइनलमा इटालीले अष्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो । मुख्य प्रतियोगितामा दुई टिमबीच पाँचौ पटक प्रतिस्पर्धा हुन लागेको हो। यस अघिको चार भेटमा इटालीले ३ जीत निकाल्दा एक खेल बराबरीमा सकिएको छ।
यस्तै दुई टिमबीच हालसम्म २२ पटक प्र्रतिस्पर्धा भएको छ। जसमा इटालीले १४ खेल जितेको छ । चार खेल बेल्जियमले जित्दा ४ खेल बराबरीमा सकिएको छ।





























प्रतिक्रिया