अर्बौं डलर घाटामा चल्दैछ ‘टोकियो ओलम्पिक’

अर्बौं डलर घाटामा चल्दैछ ‘टोकियो ओलम्पिक’

केन्द्रबिन्दु
0
Shares

ग्रीष्मकालीन ओलम्पिकको ३२ औं संस्करण शुक्रबारदेखि जापानको टोकियो सहरमा आयोजना हुँदैछ। विश्व खेलकुदको महाकुम्भ मेलामा यसपटक २ सय ४ मुलुकले सहभागिता जनाइरहेका छन्। 

अघिल्लो वर्ष नै आयोजना हुनुपर्ने ओलम्पिकको यो संस्करण विश्वभर फैलिएको कोरोना संक्रमणका कारण एक वर्षपछि धकेलिएको हो। ३२औं ग्रीष्मकालीन ओलम्पिक संस्करणको आयोजक सहर टोकियोले यसपटकको प्रतियोगिता आयोजना गर्न निकै राजनीतिक र आर्थिक उतारचढावको सामना गर्नुपरेको छ।

शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिने प्रतियोगिता सम्पन्न गर्न जापानलाई त्यति सहज छैन। ओलम्पिक भिलेजभित्रै कोरोना संक्रमण फैलिरहेको एकपछि अर्को समाचार बाहिर आइरहँदा प्रतियोगिता जारी रहने अठार दिन कसरी बित्लान् भन्ने चिन्ता यतिबेला आयोजकको छ। 

प्रतियोगितामा यसपटक कूल ११ हजार ३ सय खेलाडीले सहभागिता जनाइरहेका छन् भने ३३ खेलका विभिन्न ५० विधामा प्रतिस्पर्धा हुनेछ। 

सन् १९६४ मा पनि टोकियो सहरले नै ओलम्पिक आयोजना गरेको थियो। तर, ५७ वर्षपछि फेरि त्यही सहरमा फर्किएको ओलम्पिकको यसपटकको कथा भने बेग्लै छ। सन् २०१३ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले टोकियो सहरलाई २०२० को आयोजकका रूपमा घोषणा गर्दा जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आवेको खुसी थामिनसक्नुको थियो। 

तर, सात वर्षपछिको प्रतियोगिता सरेर आठौं वर्षमा आयोजना गर्नुपर्दा जापानजतिको पीडा कुनै मुलुकलाई भएको छैन।  

टोकियो ओलम्पिकको आर्थिक लेखाजोखा   

विश्वव्यापी कोरोना महामारीका कारण धनी मुलुकको अर्थतन्त्र तहसनहस भइरहेका बेला जापानलाई जसरी भए पनि ओलम्पिक सफलतापूवर्क सम्पन्न गर्नुपर्ने चुनौती छ। 

जापानले आफ्नो बढ्दो समृद्धिलाई विश्वभर देखाउन सात वर्षयताकै सबैभन्दा बढी रकम ओलम्पिकका लागि खन्याएको थियो । प्रतियोगिताभरि विश्वसामु उसको समृद्धि त देखिएला तर, निकै ठूलो मूल्य चुकाउँदै मात्रै। 

कोरोना संक्रमणकै कारण यति ठूलो खेल मेलाका प्रतियोगिता सबै खाली रगंशालामा आयोजना हुँदैछन्। त्यसो भएपछि जापानको खेल पर्यटन शून्यमा झर्ने पक्का भयो। 

प्रतियोगितामा यसपटक कूल ११ हजार ३ सय खेलाडीले सहभागिता जनाइरहेका छन् भने ३३ खेलका विभिन्न ५० विधामा प्रतिस्पर्धा हुनेछ। 

टिकट बिक्रीबाट खाली हात हुने भएपछि त्यसको आर्थिक क्षति निकै ठूलो हुनेछ। यसबाहेक टोकियो सहरका होटेल र रेस्टुरेन्ट पनि दर्शक नभएपछि खाली हुने भएका छन्। दर्शकबिनै हुने ओलम्पिकबाट जापानले करिब दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति व्यहोर्दैछ। 

यसबाहेक प्रतियोगिता एक वर्ष ढिला गरी सुरु भएका कारण पनि जापानले ठूलो रकम गुमाएको छ। अघिल्लो वर्ष तयार भइसकेका खेलस्थल र एथ्लेटिक्स भिलेजलाई यो वर्षका लागि दुरुस्त राख्न थप लगानी गरिएको छ। यसका लागि करिब एक अर्ब अमेरिकी डलर थप खर्च हुन पुगेको छ।

जापानलाई अर्को खर्चले पनि यतिबेला सताएको छ। अघिल्लो वर्षै प्रतियोगिता सकिसक्ने टोकियो सहरमा ओलम्पिकको एक वर्षसम्मको थप प्रचारप्रसारमा पनि जापानले पर्याप्त  रकम लगानी गरेको छ ।

कोभिड–१९ को महामारीका कारण जापानी अर्थतन्त्र सुस्ताएका बेला ओलम्पिक पूर्ण रुपमा घाटामा चलिरहेको तथ्य जापान सरकारले लुकाएको छैन। ओलम्पिकको प्रचारप्रसार र विज्ञापनबापत उठ्ने अनुमान गरिएको आठ अर्ब अमेरिकी डलरको आधा रकम पनि नउठ्ने पक्का भएको छ। त्यसमाथि दर्शक र विश्वभरका खेल पर्यटकबिना प्रतियोगिता आयोजना गर्नुको पीडा त छँदैछ।

ओलम्पिक घाटामा जाने देखेर जापानकै विश्वविख्यात स्थानीय ब्रान्डहरुले प्रतियोगिताबाट हात झिकेका छन्। यसले आयोजक राष्ट्र जापान र त्यहाँका प्रधानमन्त्री यशिहिदे सुगाको चिन्ता थप बढाएको छ।   

ओलम्पिक सुरु हुनुअगावै यसले धेरै विवादको सामना गर्नुपरेको छ। जापानी जनताले ओलम्पिक आयोजना रद्द गर्नुपर्ने माग गर्दै हरेक दिन जुलुस निकालिरहेका छन्। 

यति मात्र होइन, ओलम्पिकको सहजरूपमा व्यवस्थापन गर्न खटाइएका हजारौं स्वयंसेवक प्रतियोगिता रोक्न माग गर्दै हडतालमा उत्रिएका छन्। 

तर, अघिल्लो महिना जापान सरकारले स्वास्थ्य आपत्कालको घोषणा गर्दै ओलम्पिकको आयोजना गरेरै छाड्ने अडान लिएको थियो। निर्धारित समयभन्दा एक वर्षपछि आयोजना गर्दा नै अर्बौ जापानी येनको घाटा व्यहोरिसकेको सरकारले ओलम्पिक रद्द गर्नुपर्दाको व्ययको हिसाब नै गर्न चाहेन। किनभने, ओलम्पिकका लागि नै भनेर जापानले टोकियो सहरमा पछिल्लो सात वर्षमा भौतिक निर्माणका क्रममा करिब १६ अर्ब अमेरिकी डलर खर्च गरिसकेको छ। एक वर्षपछि सर्दा यसको लागत २२ प्रतिशतले बढेको थियो। 

यति ठूलो लगानी गरेको प्रतियोगिता सधैंका लागि रद्द गर्दा अन्तर्राष्ट्रिय मञ्चमा जापानको छवि धुमिलिने त छ नै, मुलुकले आर्थिक घाटा पनि आउँदा धेरै वर्षसम्म भोगिरहनु पर्नेछ।

सन् २०१३ मा आयोजनाको अनुमति पाउँदा तत्कालीन आबे सरकारले ओलम्पिक लागत करिब आठ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरेको थियो। तर, सात वर्षपछि त्यसलाई सम्पन्न गरिसक्दा ठिक दुई गुणा बढी, अर्थात् १६ अर्ब अमेरिकी डलरले नपुग्ने अवस्था सिर्जना भएको छ। 

अक्सफोर्ड विश्वविद्यालयको एक अध्ययनले टोकियो ओलम्पिक इतिहासकै सबैभन्दा बढी लगानी गरिएको ग्रीष्मकालीन ओलम्पिक हुन पुगेको तथ्यांक सार्वजनिक गरेको छ।

Logo