अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई राजीनामा फिर्ता लिन आग्रह गरेको छ।
एन्फा कम्प्लेक्समा प्रशिक्षक अल्मुताइरीसँग भेट गर्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राजीनामा फिर्ता लिन आग्रह गरेका हुन्। अध्यक्ष शेर्पाले साफ च्याम्पियनसिप नजिकै आइसकेका कारण टिमको तयारी प्रभावित हुने भन्दै उनलाई राजीनामा फिर्ता लिन आग्रह गरेका हुन्।
प्रशिक्षक अल्मुताइरीले सामाजिक संजाल फेसबुकबाट आफूले राजीनामा दिने बताएका थिए । अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङका कारण राजीनामा दिन लागेको बताएका छन्।
एन्फाका प्रवक्ता किरण राईका अनुसार, प्रशिक्षक अल्मुताइरीले अध्यक्ष शेर्पासँगको भेटमा आफू पछिल्लो समय तनाबमा रहेको समेत बताएका थिए। यस्तै अध्यक्ष शेर्पाले प्रशिक्षक अल्मुताइरीलाई अहिले आराम गर्न आग्रह गरेका थिए । शेर्पासँगको भेटपछि अलमुताइरी होटल फर्किएका छन्।
‘अहिले सामान्य छलफल मात्र भएको छ, उहाँलाई आराम गर्न पठाइएको छ अब एकछिन पुनः हामी छलफलमा बस्नेछौं।’ एन्फाका प्रवक्ता किरण राईले केन्द्रबिन्दुलाई भने।





























प्रतिक्रिया