खेलकुदले छलाङ नमार्नुमा राजनीति र स्वार्थको खेल हाबीः सुशिल नरसिंह राणा

खेलकुदले छलाङ नमार्नुमा राजनीति र स्वार्थको खेल हाबीः सुशिल नरसिंह राणा

केन्द्रबिन्दु
0
Shares

शुक्रवार बिहान भएको एथलेटिक्सको खेल सकिएसँगै नेपालको ओलम्पिक यात्रा पदकबिहीन भएर सकिएको छ । पाँच खेलाडीले चार स्पर्धामा सहभागिता जनाए तर विगतका संस्करण जस्तै यो संस्करण पनि औपचारिकतामै सीमित भयो । खेलको यो महाकुम्भमा नेपालले सहभागिता जनाएको आधा शताब्दी कटिसकेको छ । सन् १९६४ मा जापानमा आयोजना भएको ओलम्पिक खेलकुदमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो । विगतजस्तै यस संस्करणमा पनि केहीले राष्ट्रिय कीर्तिमानमा सुधार गर्नेबाहेक सहभागिता उपलब्धिबिहीन रह्यो । के सधैँ नेपालको ओलम्पिक प्रतिष्पर्धा सहभागितामै सीमित हुने हो ? खेलकुद विज्ञ सुशिल नरसिंह राणासँग गरिएको कुराकानीः 

नेपालले ओलम्पिक प्रतिष्पर्धामा सधैँ सहभागितामै चित्त बुझाउनु पर्ने हो  ?

यो आम मानिसको प्रश्न हो । नेपालले ओलम्पिक सहभागिता सधैं जनाउने गरे पनि पहिलो चरणभन्दा दोस्रो चरण पार गर्न सकेको छैन । ओलम्पिकमा सहभागी बनेर फर्किएपछि हामी सुध्रिन सकेनौं भने नेपालको सम्भावना अझै कमजोर नै हुनेछ । 

पुरानो सोचलाई नै हाबी हुन दिने हो भने ६ दशकको यात्रा औपचारिकतामा सीमित छ, आगामी ६ दशक पनि यस्तै हुनेछ । किनभने हाम्रो कर्मचारीतन्त्रले खेलकुद के भन्ने बुझेको छैन । अनि सरकारले जिम्मेवारी दिएर नेतृत्व गर्न आएको खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी जस्ता संस्था, जसले खेलकुद विकासका लागि खाका तयार पार्नु पर्ने हो उनीहरु राजनीतिको स्वार्थमा तल्लिन छन् । जबसम्म राजनीति र स्वार्थको खेल खेलुकदमा हाबी हुन्छ, खेलकुदले छलाङ मार्न सक्दैन ।
 
राजनीतिक व्यक्तिहरुबाट खेलकुद विज्ञलाई किन खेलाडी उत्पादन गर्ने जिम्मेवारी दिइँदैन ?

नेपाली खेलकुदमा धेरै विज्ञ मानिसहरु छन् । अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा र छवि बनाएका टेक्नोक्रयाट (प्राविधिक) पनि छन् । तर समस्या के छ भने सही मान्छे खेलकुद निकायमा आउन सकेका छैनन् । अहिलेकै उदाहरण हेर्ने हो भने प्रदेशबाट आउने व्यक्ति कुनै न कुनै राजनीतिक पृष्ठभूमिको हुन्छ । उनीहरुको ध्यान पद मात्र लिने रहन्छ । त्यस्ता व्यक्तिहरुसँग खेलकुद विकास गर्नका लागि कुनै पनि योजना छैनन् । सरकार कसको छ, त्यस निकटका व्यक्तिहरु नेतृत्व गर्न आउँछन् । 

अहिलेको सदस्य सचिव (रमेश कुमार सिलवाल) आउनुभन्दा पहिले धेरैले खेलकुद क्षेत्र बुझेको सदस्य सचिव आउने आश गरेका थिए । तर अन्तिम राजनीतिक क्षेत्रमा जसको बढी पहुँच भएको व्यक्ति थियो उनी नै नेतृत्वमा आए । यस्तो नेतृत्व सरकारप्रति मात्र बफादार हुन्छ । उनीहरुसँग खेलकुद विकास गर्ने कुनै योजना हुँदैन । 

ओलम्पिककै कुरा गर्दा यो वृहत क्षेत्र हो । यसमा पुग्नका लागि दीर्घकालीन योजना निकै नै अपरिहार्य छ । अहिले हाम्रो अन्तर्राष्ट्रिय प्रतियोगिताको अभ्यासलाई नियाल्ने हो भने हामी दीर्घकालीन योजनमा अघि बढेको देखिँदैन । सधँै केही महिनाको तयारी र सहभागिता मात्र हुँदै आएको छ । यो छोटो र अल्पकालीन योजनाले सम्भव छैन । 

रातारात कोही पनि पूर्ण खेलाडी बन्न सक्दैन । हाम्रा पुराना खेलाडी जो खेलकुद क्षेत्रमा कहलिएका छन्, उनीहरुको खेल करियर कलिलै उमेरबाट शुरु भएको देख्न सकिन्छ । त्यसै पनि हामीले खेलाडीको वृद्धि विकासका लागि उमेर समूहमा नै ध्यान दिन जरुरी छ ।

दीर्घकालीन ढंगबाट खेल क्षेत्र अघि बढाउन के–के विषयमा ध्यान दिन जरुरी छ ? 

दीर्घकालीन ढंगबाट अगाडि बढ्न योजना मात्र बनाएर सम्भव हुन सक्दैन । योजनालाई कार्यान्वयन गर्नका लागि सम्बन्धित निकाय लागि परे सम्भव छ । सम्बन्धित खेलकुद संघ पनि सुस्ताएको अवस्था छ । कति संघले त वार्षिक क्यालेन्डर पनि बनाएका छैनन् । अझै महामारीले गर्दा त्यस्ता संघहरुलाई फाइदा मिलेको छ । अभ्यास गर्ने स्थल बन्द भएको बहाना संघलाई मिलेको छ । खेलाडीमा अहिले केवल नैराश्यता मात्र छाएको छ । खेलेर जीविका सञ्चालन गर्न कठिन हुने खेलाडीले बुझिसकेका छन् । 

यही अवस्था चलिरह्यो भने नेपालले सहभागिताका लागि वाइल्ड कार्डकै भर पर्नुको विकल्प छैन ।

ओलम्पिकमा खेलाडीको सहभागिता न्यून भएको अवस्थामा २६\२७ जनाको भ्रमण टोली बन्नु आवश्यकता हो कि बाध्यता ?

बास्तवमा यो निकै नै अस्वभाविक विषय हो । हिसाबकितावकै आधारलाई मान्ने हो भने पाँच जना प्रशिक्षक, पाँच जना पदाधिकारी भए पुग्ने थियो । जम्बो टोलीको आवश्यक छैन । अहिले ओलम्पिकमा गएका पदाधिकारी माथिल्लो स्तरका छन् । उनीहरुका लागि भ्रमण ठूलो विषय पनि होइन । लग्नु नै थियो भने खेल बुझ्ने पदाधिकारी, डाक्टर लग्नुपर्ने थियो । 

यसरी ठूलो संख्यामा पदाधिकारीलाई शयर गराउनुले जनमानसमा राम्रो सन्देश जाँदैन । मैले किन मेरो बालबच्चा खेलक्षेत्रमा पठाउने भन्ने प्रश्न सबैमा उठ्न थालेको छ । कसरी लगानी गर्ने प्रायोजक संस्थामा प्रश्न उब्जिन थालेका छन् । त्यसैले नेतृत्व तहबाट धेरै विचार गर्नुपर्छ ।
 

Logo