काठमाडौं ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)ले खेलकुद गतिविधि अघि बढाउने बिषयमा सरकार गम्भिर हुनुपर्ने बताएको छ । कोरोना भाइरसका कारण खेलकुद गतिविधि ठप्प भएको अवस्थामा एनओसीले खेलकुदलाई चलायमान बनाउने बिषयमा सरकारले ठोस योजना ल्याउनुपर्ने बताएको हो ।
एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठले निश्चित मापदण्ड बनाएर खेलकुदलाई अघि बढाउन निकै ढिला भइसकेको बताए । ‘कोभिड हामीसँगै बस्ने भयो । खेलकुदलाई ठप्प राखेर भएन । अगाडि बढाउन पर्यो ।’ महासचिव श्रेष्ठले भने, ‘खेलकुदको नेतृत्वदायी निकायले मापदण्ड बनाएर खेलकुदलाई चलायमान बनाउने वातावरण बनाउनु पर्यो । यसो गर्दा ओलम्पिक सहितका संघहरुले आ–आफ्नो अभ्यास सुरु गर्छन् ।’
कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले चैतको पहिलो साताबाट सम्पूर्ण खेलकुद गतिविधि गर्न रोक लगाएको छ । कोरोना संक्रमण बढ्न नदिन सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाको लामो श्रृङ्खला पार भईसकेको छ । तर दिनहुँ देशभित्र कोरोना संक्रमित बढिरहेका छन् ।
कोरोना कहरले जनजिवन अस्तव्यस्त बनेपछि सरकारले लामो समयदेखि लागू गरेको लकडाउन र निषेधाज्ञा हटाउने निर्णय गरेको छ । तर खेलकुद गतिविधिमाथि लागेको सरकारको रोकवाट अझ पनि यथावत छ । सार्वजनिक यातायात, पसल, उद्योगहरु सञ्चालनमा आए पनि खेलकुदका कुनै गतिविधि अघि बढ्न पाएका छैनन् ।
सरकारको रोकावटका कारण खेलाडीहरु अभ्यासमा निस्कन पाएका छैनन् भने घरेलु खेलकुदका सम्पूर्ण गतिविधि ठप्प छन् । घरेलु खेलकुदको कार्यकारी निकाय राखेप र सर्वोच्च निकाय युवा तथा खेलकुद मन्त्रालयले खेलाडीलाई अभ्यासमा फर्काउने कुनै ठोस पहल चालेका छैनन् ।
ओलम्पिक कमिटीका महासचिव श्रेष्ठले खेलकुदलाई खुल्ला गर्ने वातावरण बनाउने दायित्व मन्त्रालय र राखेपको रहेको बताए । खेलकुद संघले आफैं प्रशिक्षण सुरु गर्दा सरकारविरुद्ध गएको देखिने उल्लेख गर्दै महासचिव श्रेष्ठले निश्चित मापदण्ड र नीति बनाएर प्रशिक्षण खुल्ला गर्न आवश्यक रहेको बताए ।
‘खेलकुदलाई खुल्ला गराउने भनेको मन्त्रालयले हो । यसलाई नीति र मापदण्ड बनाएर खोल्न आवश्यक छ । यसले खेलकुद चलायमान बनाउँछ ।’ उनले भने, ‘खेलकुद संघहरु संस्थागत रुपमा आफै अघि बढ्दा सरकारको विरोधमा गएको जस्तो देखिन्छ ।’
सरकारले भदौ १ गतेबाट अन्तराष्ट्रिय प्रतियोगिताको प्रशिक्षण खुल्ला गर्ने निर्णय गरेको थियो । सोही अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) सहितका विभिन्न खेलकुद संघले प्रशिक्षण सुरु गर्ने योजना बनाएका थिए । तर काठमाडौंमा बढ्दो संक्रमितको संख्यासँगै सरकारले निषेधाज्ञा सुरु गरेपछि फुटबलसहित सबै खेलको प्रशिक्षण अनिश्ति समयका लागि बन्द भएको छ ।
लकडाउन र निषेधाज्ञा हटेसँगै ब्याडमिन्टन सहितका केही खेलको प्रशिक्षण अनौपचारिक रुपमा सुरु भएको छ । तर सरकारको रोकावटका कारण खेलाडीहरु प्रशिक्षणमा फर्कन सकेका छैनन् । एन्फाले प्रशिक्षणका लागि सरकारसँग अनुमति मागेको अवस्था छ । तर एन्फाको प्रस्तावलाई सरकारले रोकेर राखेको छ ।
नेपाल ट्रायथलन संघका महासचिव समेत रहेका श्रेष्ठले प्रशिक्षणमा ढिलाई हुँदा खेलाडी पलायन हुने सम्भावना धेरै देखिएको बताए । ‘खेलाडी पलायन हुने अवस्था देखिसक्यो । यसको असर अर्को पुस्तामा देखिन्छ । खेलकुद ठप्प हुँदा अर्को पुस्ता पछि हट्छ ।’ उनले भने ।
श्रेष्ठले भने, ‘कोरोनाले प्रशिक्षण सुरु नहुँदा अहिलेका खेलाडी पलायन हुने डर छ । यसले गर्दा नयाँ पुस्तालाई आकर्षण गरेर खेलकुदमा जोड्न सकिन्न । त्यसैले तुरुन्त खेलकुदलाई चलायमान बनाउनु पर्छ ।’





























प्रतिक्रिया