मेस्सीले किन रोजे ३० नम्बर जर्सी?

मेस्सीले किन रोजे ३० नम्बर जर्सी?


फुटबल स्टार ३४ वर्षीय लियोनल मेस्सीले नयाँ क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा ३० नम्बरको जर्सी रोजेका छन्। मंगलबार पीएसजीले मेस्सीलाई ३० नम्वरको जर्सीका साथ सार्वजनिक गरेको छ । मेस्सीले पीएसजीमा २ वर्षको सम्झौता गरेका छन् । पीएसजीमा मेस्सीले वार्षिक २५ मिलियन पाउन्ड र बोनस पाउने छन्। 

मेस्सीले पीएसजीमा ३० नम्बर जर्सी किन रोजे भन्ने विषयमा धेरैको ध्यान गएको छ । त्यसैले आज हामी मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी रोज्नुका केही कारणहरु उल्लेख गर्दैछौं। 

मेस्सीले २१ वर्ष बार्सिलोनामा बिताउँदा १७ सिजनका खेलहरु खेले । जसमा मेस्सी १३ सिजनमा आइकोनिक १० नम्वरको जर्सीमा देखिए भने, सुरुवाती चार सिजनमध्ये दुई–दुई सिजन मेस्सीले ३० नम्वर र १९ नम्वरको जर्सी लगाएका थिए। मेस्सीले बार्सिलोनाबाट डेब्यु गर्दा ३० नम्बरको जर्सी लगाएका थिए। यसपछि मेस्सीले सन् २००६ देखि जर्सी नम्बर १९ लगाएका थिए।

मेस्सीले बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गर्दा त्यतिबेला ब्राजिली स्टार रोनाल्डिन्होले १० नम्वरको जर्सीमा बार्सिलोनामा उत्कृष्ट खेल खेलिरहेका थिए । त्यसतबेला मेस्सीले ३० नम्वरको जर्सी पाएका थिए तर, सन् २००८ मा रोनाल्डिन्हो बार्सिलोनाबाट बाहिरिएपछि मात्रै मेस्सीले १० नम्बरको जर्सी लगाएका थिए। 

त्यसपछि १३ सिजन मेस्सीले बार्सिलोनामा १० नम्वरको जर्सीमा बिताए। मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट पनि १९ नम्वरको जर्सी लगाएका थिए । 

मेस्सी पीएसजीमा आउने निश्चित भएपछि ब्राजिलीयन खेलाडी नेयमार जुनियरले उनलाई १० नम्बरको जर्सी दिने प्रस्ताव पनि राखेका थिए। तर मेस्सीले उक्त प्रस्तावलाई अस्वीकार गर्दै ३० नम्बरको जर्सी रोजेका हुन् । मेस्सीले नेयमार आफू भन्दा पहिले पिएसजीमा आएको कारण आफूले जर्सी नम्बर १० नलगाउने बताएका हुन्।  

सामान्यतया फ्रान्समा ३० नम्बर जर्सी तेस्रो रोजाईका गोलरक्षकले लगाउने चलन रहेपनि उनले आफूले सुरुमा लगाएको ३० नम्बर जर्सी नै रोजेका छन्। लिगले मेस्सीका लागि भएर नै पिएसजीका तेस्रो रोजाइका गोलरक्षकले लिइसकेको जर्सी परिवर्तन गर्न स्वीकृति दिएको थियो। पीएसजीले उनलाई १९ नम्बर जर्सीको पनि प्रस्ताव राखेको थियो तर, उनले ३० नम्बर नै रोजे। 

३० नम्बरको जर्सी त्यही नम्बरको जर्सी हो, जुन मेस्सीले बार्सिलोनाबाट व्यवसायिक करियर सुरु गर्दा लगाएका थिए। त्यसैले मेस्सीले पीएसजीमा ३० नम्वरको जर्सी रोज्नुको अर्थ पनि ३० नम्वरबाटै नयाँ अध्याय सुरु गर्न लागेको बुझ्न सकिन्छ। अब पुनः ३० नम्बर जर्सीमा देखिने मेस्सीलाई नयाँ सिजन, नयाँ जर्सी नम्बर र नयाँ क्लब कतिको फाप्ला त?  

Logo