टोकियो ओलम्पिकका सम्झनलायक सात घटना

टोकियो ओलम्पिकका सम्झनलायक सात घटना


जापानमा आयोजना भएको विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक २०२० सम्पन्न भएको छ । १९ दिन चलेको प्रतिस्पर्धामा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । 

४२ खेल स्थलमा भएको ३३ खेलका लागि ३३९ इभेन्टमा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताभरी थुप्रै सम्झन लायक कीर्तिमानी खेल, गतिविधि, घटना  भए, जसमध्ये ७ चर्चित घटनाको बारेमा यहाँ समेटिएको छ।  

१) स्वर्ण जित्ने सबैभन्दा सानो देश

ट्रायथलन खेलमा फ्लोरा डफीको जितसँगै जम्मा ६३ हजार जनसंख्या भएको बर्मुडा ग्रीष्मकालीन ओलम्पिकमा स्वर्ण पदक जित्ने सबैभन्दा सानो देश बनेको छ । 

३३ वर्षीया फ्लोरा डफीले ट्रायथलनको व्यक्तिगत स्पर्धामा स्वर्ण जित्दै ओलम्पिकमा इतिहास रचिन् । चौथो पटक ओलम्पिकमा भाग लिएकी उनले ५६ महिला प्रतिस्पर्धीलाई पछि पार्ने क्रममा ५५ मिनेट ३६ सेकेन्डमा (पौडी, साइक्लिङ र दौड)को निर्धारित दूरी पूरा गरिन् । 

डफीले यसअघि सन् २०१८ को कमनवेल्थ गेम्समा स्वर्ण जितेर इतिहास बनाएकी थिइन् । उनी कमनवेल्थ गेम्समा पनि स्वर्ण जित्ने बर्मुडाकी पहिलो खेलाडी बनेकी थिइन् । 

ओलम्पिक ट्रायथलमा ५१.५ किलोमिटर दूरी पार गर्नुपर्छ । जसमा १.५ किलोमिटर पौडी, ४० किलोमिटर साइक्लिङ र १० किलोमिटर दौड हुन्छ । डफीले पार गरेको दूरी आफ्नो देशको लम्बाईभन्दा ११.५ किलोमिटर बढी हो । बर्मुडाको लम्बाई जम्मा ४० किलोमिटर रहेको छ ।  
ग्रीष्मकालीन ओलिम्पिक्समा पदक जित्ने सबैभन्दा कम जनसंख्या भएको देशको कीर्तिमान यसअघि पनि बर्मुडाकै नाममा थियो । सन् १९७६ मा क्लारेन्स हिलले बक्सिङमा कांस्य पदक जितेपछि उक्त देशको नाममा उक्त कीर्तिमान कायम भएको थियो । 

२) देशको झण्डा बोक्न नपाएका अभागी खेलाडी

ओलम्पिकमा स्वर्ण पदक जितेपछि मञ्चमा उक्लिदाँ खेलाडीहरू आफ्नो राष्ट्रियगान सुन्छन् तर रुसी खेलाडीहरुले सुन्न पाएनन् । राष्ट्रियगानको सट्टा उनीहरु सङ्गीतकार चाइकोभ्स्कीको पियानो सङ्गीत सुने । न उनीहरूले आफ्नो देशको झण्डा हल्लाउन पाए, न त आफ्नो देशको नाम लेख्न नै । 

यी प्रतिबन्धहरू रुसको डोपिङ इतिहाससँग सम्बन्धित छन् । सन् २०१४ को शीतकालीन ओलम्पिक्समा पदक तालिकामा माथिल्लो स्थानमा रहेको रुसका खेलाडीमाथि गरिएको परीक्षणमा डोपिङ (प्रतिबन्धित औषधी सेवन) देखाएको थियो । 

त्यसपछि सन् २०१९ मा वल्र्ड एन्टी डोपिङ एजेन्सी (वाडा) ले रुसलाई टोकियो ओलम्पिक २०२० र फिफा विश्वकप २०२२ गरी सबै प्रमुख प्रतियोगितामा भाग लिन चार वर्षको प्रतिबन्ध लगाएको थियो ।  

सन् २०२० मा यो निर्णयको विरुद्ध कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्समा रूसले अपील गरेको थियो । अपीलपछि प्रतिबन्ध घटाएर दुई वर्षमा झारिएको थियो । त्यसपछि यो प्रतिबन्ध डिसेम्बर २०२२ सम्म कायम रहने भएको थियो । त्यस बेलादेखि रुसी खेलाडीहरूले प्रतिबन्धहरू खेपिरहेका छन्।
टोकियो ओलम्पिकमा रूसका खेलाडीहरूलाई रुसी झण्डाकै रङ्गहरू नीलो, रातो र सेतो प्रयोग गर्न दिइएको थियो । यस्तै पोशाक पनि रुस भन्ने शब्द नराखी प्रयोग गर्न दिइयो। टोकियो ओलम्पिक रुसी खेलाडीहरूले यस्तो प्रतिबन्ध सामना गरेको तेस्रो ठूलो खेल हो । 

रुसी सबै खेलाडी रसियन ओलम्पिक कमिटी अर्थात् आरओसीको झण्डामा टोकियो ओलम्पिक २०२० खेले । आरओसीले २० स्वर्ण, २८ पदक र २३ कास्यसहित कुल ७१ पदक जित्दै तालिकामा पाँचौं स्थान बनायो।  उनीहरूले जितेको पदक पनि टोकियो ओलम्पिकको पदक तालिकामा आरओसीको नाममा रह्यो ।

रूस २०१६ को रियो ओलम्पिकमा ५६ पदक जित्दै पदक तालिकाको चौथो स्थानमा रहेको थियो ।

३) १३ वर्षीया खेलाडीलाई स्वर्ण

जापानकी १३ वर्षीया मोमिजी निशियाले टोक्यो ओलम्पिक २०२० मा महिला स्ट्रीट स्केटबोर्डिङमा सानो उमेरमा ओलम्पिक स्वर्ण पदक जितेर इतिहास बनाइन् । 

स्केटबोर्डिङ ओलम्पिकमा समावेश गरिएका पाँच नयाँ विधामध्येको एउटा खेल हो । उक्त स्पर्धामा ब्राजिलकी रेस्सा लिलले रजत पदक जितिन् ।  उनी पनि १३ वर्षकै हुन् ।
 
स्केटबोर्डिङमा १३ वर्षकै उमेरमा स्वर्ण जिते पनि मोमिजी ओलम्पिकमा कम उमेरमा स्वर्ण जित्ने खेलाडी भने होइनन् । ओलम्पिकमा कम उमेर स्वर्ण जित्ने कीर्तिमान अमेरिकाकी मार्जोरी गेस्ट्रीङ हुन् । उनले सन् १९३६ को बर्लिन ओलम्पिकमा १३ वर्ष २६७ दिनको उमेरमा डाइभिङमा स्वर्ण जितेकी थिइन् । यो उमेर मोमिजीको भन्दा ६३ दिन कम हो ।

ओसाका सहरकी निशियाले आफ्नो दाजुको प्रेरणाले पाँच वर्षको उमेरमा स्केटबोर्डिङ खेल्न सुरु गरेकी थिइन् । टोकियो ओलम्पिकको सबैभन्दा कान्छी खेलाडी भने १२ वर्षकी सिरियाली टेबल टेनिस स्टार हेन्ड जाजा हुन् ।

४) एक्लो स्वर्ण जित्ने दक्षिण एसियाली देश

भारतबाहेक टोकियो ओलम्पिक २०२० मा सहभागी दक्षिण एसियाका अन्य देशले कुनै पदक हात पार्न सकेन । भारतले भने १ स्वर्ण, २ रजत र ४ कास्य गरी ७ पदक जित्न सफल भयो । 

भारतका नीरज चोपडाले पुरूष ज्याभलिन थ्रो मा स्वर्ण जित्यो । यसअघि भारतका कुनै पनि एथलेटिक्स खेलाडीले ओलम्पिकमा पदक जित्न सकेका थिएनन् । उनी ओलम्पिकमा भारतका लागि स्वर्ण जित्ने दोस्रो खेलाडी हुन् । यसअघि बेइजिङ ओलम्पिक २००८ मा सुटिङ खेलाडी अभिनव बिन्द्राले भारतका लागि १० मिटर एयर राइफलमा स्वर्ण जितेका थिए । 

५) ५७ वर्षीयलाई ओलम्पिक पदक

सुटिङको स्कीट विधामा कुवेतका सुटिङ खेलाडी ५७ बर्षीय अब्दुल्लाह अल रसिदीले कास्य पदक जितेसँगै टोकियो ओलम्पिकमा बढी उमेरमा पदक जितेर चर्चामा आए । अल रसिदीले ओलम्पिकमा दोस्रो पदक जितेका हुन् । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले कुवेतलाई प्रतिबन्ध लगाएको समयमा उनले सन् २०१६ को रियो ओलम्पिकमा व्यक्तिगत रूपमा ओलम्पिकमा भाग लिएका थिए, जसमा पनि उनले कास्य पदक जितेका थिए । 

अल रसिदीले रियोअघि पाँच पटक ओलम्पिक खेलका थिए। पाँचै पटक पदक जित्न असफल भए पनि उनले हरेस खाएनन् । तर छैटौं पटक जब उनले पदक जिते, सो पदक देशको नाममा हुन सकेन ।  यसपटक ५७ वर्षको उमेरमा उनले आफ्नो देशका लागि पदक जित्ने धोको पूरा गरे ।

ओलम्पिकमा बढी उमेरमा पदक जित्ने कीर्तिमान भने स्वीडेनका सुटिङ खेलाडी ओस्कार स्वानको नाममा छ । उनले सन् १९२० को ओलम्पिकमा ७२ वर्षको उमेरमा रजत पदक जितेका थिए।

६) खेलाडी आफ्नो देश फर्कन नमानेपछि

ओलम्पिकमा सहभागी हुन गएकी बेलारूसकी २४ वर्षीया खेलाडी क्रिस्टिना तिमानोभस्काया आफ्नो देश फर्कन नमानेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चित बनिन् । क्रिस्टिना यसपालि पहिलो पटक ओलम्पिक खेल्न गएकी थिइन् । उनले महिला इभेन्टको १०० मिटरको दौडमा प्रतिष्पर्धा गर्न गएकी थिइन् । 

यही बीचमा उनले आफूलाई रिले दौडमा पनि राखिएको जानकारी पाइन् । केही खेलाडीको एन्टीडोपिङ परीक्षण नगरेको भन्दै बेलारूसको ओलम्पिक कमिटीले उनलाई रिले दौडमा राखेको बतायो । आफू उक्त रिले दौडका लागि खेल्न नआएको भन्दै उनले सामाजिक सञ्जालमार्फत् त्यसको विरोध गरिन् । उक्त विरोधपछि बिहान उनका प्रशिक्षक उनको कोठामा आए र सामान प्याक गर्न भने । 

क्रिस्टिनालाई जबरजस्ती हानिदा विमानस्थलमा पुर्याइयो तर  उनले जहाज चढ्न अस्वीकार गरिन् र जापानी प्रहरीसँग सहयोग मागिन् । बेलारूस फर्किएपछि आफूलाई लुकासेन्को सरकारले जेल हालिदिने भन्दै क्रिस्टिनाले विदेशी मुलुकसँग शरण मागिन् । त्यसपछि उनलाई पोल्यान्डले शरण दिएको थियो । 

बेलारूस पूर्वी युरोपको भूपरिवेष्ठित मुलुक हो । बेलारूसमा २७ वर्षदेखि अलेक्जेन्डर लुकासेन्कोले तानाशाही शैलीमा शासन चलाइरहेका छन् । बेलारूसको ओलम्पिक कमिटीका अध्यक्ष तिनै लुकासेन्कोका जेठा छोरा भिक्टर लुकासेन्को छन् । 

७) फाइनलअघि नाम फिर्ता 

अमेरिकाका लागि सबैभन्दा आशा गरिएकी जिम्न्यास्टिक खेलाडी सिमोन बाइल्सले समूह स्पर्धाको फाइनल प्रतिस्पर्धा खेल्नुअघि आफ्नो नाम फिर्ता लिएर धेरैलाई आश्चार्यमा पारेकी थिइन् । 

अघिल्लो ओलम्पिकमा चार स्वर्ण जितेकी २४ वर्षीया बाइल्सले मानसिक स्वास्थ्यका कारण आफूले अमेरिकी महिला टिमको जिम्न्यास्टिकको फाइनल इभेन्ट खेल्नुअघि नाम फिर्ता लिएको स्पष्टीकरण दिएकी थिइन्।
 

Logo