ओमानमा हुने त्रिकोणात्मक सिरिजको मिति तय

ओमानमा हुने त्रिकोणात्मक सिरिजको मिति तय

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना ओमानमा खेल्ने त्रिकोणात्मक सिरिजको मिति तय भएको छ । 

आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज भदौ २८ देखि असोज ४ (सेप्टेम्बर १३ देखि २०) सम्म हुने भएको छ । ओमान क्रिकेट बोर्डका मुख्य विकास अधिकारी दुलिप मेन्डिसको भनाई उद्धृत गर्दै मिति पक्का भएको जनाएको छ ।

ओमानले अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म चल्ने टि २० विश्वकप तयारीको लागि नेपाल, अमेरिका त्यस्तै स्कटल्यान्ड तथा पपुवा न्युगिनीसँग त्रिकोणात्मक सिरिज र मुम्बईको टोलीसँग टि २० र एकदिवसिय खेलको आयोजना गर्न लागेको हो ।

नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्नुअघि पपुवा न्युगिनीसँग दुई वा तीन ओडिआई सिरिज खेल्ने तयारी गरिरहेको छ । नेपाल अगष्ट अन्तिममा ओमान भ्रमणमा निस्कने देखिन्छ । त्रिकोणात्मक सिरिज लगत्तै सेप्टेम्बर २५ देखि एभरेष्ट प्रिमियर लिग (इपिएल) सुरु हुने कार्यक्रम छ ।

नेपालले गतवर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग–२ मा डेब्यू गरेको थियो । कोरोनाका कारण ओमानले त्यसपछि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । नेपालले भने घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग वैशाखमा टि २० आई त्रिकोणात्मक सिरिज खेलेको थियो ।

नेपालसहित, ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरी ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडिआई खेल खेल्नेछन् । जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

Skip This
Skip This
Logo