मेस्सीले छाडेपछि ‘स्पेनिस ला लिगा’का ११ स्टार

मेस्सीले छाडेपछि ‘स्पेनिस ला लिगा’का ११ स्टार


स्पेनिस ‘ला लिगा’ लिगको नयाँ सिजन गत शुक्रबारदेखि सुरु भएको छ। आर्थिक संकटको कारण देखाउँदै रियल म्याड्रिड, बार्सिलोना र एट्लेटिको म्याड्रिडजस्ता क्लबले स्टार खेलाडीलाई आफ्नो क्लबमा टिकाउन सकेन। 

हालै मात्र बार्सिलोनाले मेस्सीलाई गुमाएको छ। १७ वर्षपछि लियोनल मेस्सीबिना स्पेनिस ‘ला लिगा’ सुरु भएको छ। यसपल्टको ‘ला लिगा’ नयाँ खेलाडीको सिजन हुन सक्छ। आर्थिक समस्याकै कारण रियल र बार्सिलोनाले स्टार खेलाडीलाई किन्न सकिरहेको छैन। रियलको कुरा गर्ने हो भने उसले पनि कप्तान सर्जियो रामोसलाई गुमाएको छ। 

यो १७ वर्षको अवधिमा मेस्सीले ‘ला लिगा’मा आफूलाई अब्बल तथा स्टार प्रमाणित गरिसकेका छन्। मेस्सीको बर्हिगमनसँगै ‘ला लिगा’मा अब को स्टार हुनेछ भन्ने बहस सुरु भएको छ।

मेस्सीको बर्हिगमनसँगै ‘ला लिगा’ले दुई ठूला स्टारलाई गुमाइसकेको छ। यसअघि ‘ला लिगा’ले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई गुमाएको थियो। मेस्सी र रोनाल्डोले वर्षौदेखि ‘ला लिगा’मार्फत् आफ्नो छवि विश्व फुटबलमै चिनाएका थिए। ‘ला लिगा’ विश्वकै उत्कृष्ट लिगका रूपमा रहेको थियो। 

त्यसैले, अब सबैको चासोको विषय ‘ला लिगा’को स्टार को हो भन्ने छ। तर, ‘ला लिगा’मा केही अन्तर्राष्ट्रिय प्रतिभावान खेलाडी रहेका छन्, तिनै खेलाडी नै ‘ला लिगा’को स्टार रहेका छन्। आज हामी तिनै स्टार खेलाडीको बारेमा चर्चा गर्न गइरहेका छौंः 

१. करिम बेन्जेमा
विश्व फुटबलमा निकै आशा गरिएका खेलाडी हुन्, करिम बेन्जेमा। सन् २०१८ मा रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले क्लब छाडेसँगै यसको बोझ फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको काँधमा आएको थियो। उनले रोनाल्डो नहुँदा पाएको अवसरलाई प्रमाणित गरेका छन्। त्यसैले, यसपालिको ‘ला लिगा’मा ३३ वर्षीय बेन्जेमा स्टार खेलाडीकै रूपमा रहनेछन्। 

बेन्जेमाको क्लब म्याड्रिडले ‘ला लिगा’मा सानदार सुरुआतसमेत गरिसकेको छ। आफ्नो पहिलो खेलमा रियलले डिपोर्टिभो एलाभेसमाथि ४–१ को सानदार जित निकाल्दै नयाँ सिजनमा सुखद सुरुआत गरेको हो।  

शनिबार राति भएको खेलमा बेन्जेमाले दुई गोल गरे। उनले खेलको ४८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। यस्तै, ६२ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गरे। उनी विश्व फुटबलमा जर्सी नम्बर ९ बाट परिचित छन्।

२. लुइस सुआरेज
गत सिजन बार्सिलोना छाडेर एट्लेटिको म्याड्रिड पुगेका उरुग्वेली फरवार्ड लुइस सुआरेजको उच्च प्रदर्शनमा एट्लेटिको ला लिगाको च्याम्पियन बन्न सफल भएको थियो। सुआरेजले ला लिगामा ३२ खेल खेल्दै २१ गोल गरिसकेका छन्। पछिल्लो सिजन उनले आलोचना गर्नेको मुख बन्द गर्दै आफ्नो टिमलाई ‘ला लिगा’को उपाधि जिताउँदै स्टार साबित गरे। त्यसैले यसपटक पनि उनी ‘ला लिगा’को स्टार रहन सक्नेछन्। 

सुआरेजको टिम एट्लेटिको म्याड्रिडले नयाँ सिजनको ‘ला लिगा’मा विजयी सुरुआत गरिसकेको छ। म्याड्रिडले सेल्टा डि भिगोलाई उसकै मैदानमा २–१ ले पराजित गरेको थियो।

३. एन्टोइन ग्रिजम्यान
करिब डेढ महिनाअघि सम्पन्न भएको मिनी विश्वकप भनिने युरोकप २०२० मा फ्रान्सका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन्  एन्टोइन ग्रिजमन। फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजम्यान एट्लेटिकोबाट बार्सिलोना गएपछि उनले अपेक्षाअनुरुप प्रदर्शन गर्न सकेनन्। तर, उनी मेस्सीको छायाँबाट बाहिर आउन सक्छन्। अब ग्रिजम्यानले बार्सिलोनामा आफ्नो क्षमता र जिम्मेवारी लिने बेला आएको छ। उनले आफूलाई थप प्रमाणित गर्दै ‘ला लिगा’मा स्टार खेलाडी रहन सक्नेछन्।

मेस्सीबिनाको बार्सिलोनाले ‘ला लिगा’मा विजयी सुरुआत गरेको छ। आइतबार राति रियल सोसीडाडलाई ४–२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सिजनको सुखद सुरुआत गरेको हो। तर, ग्रिजम्यान भने व्यक्तिगत रूपमा गोल गर्नबाट चुके। 

४. इडेन हाजार्ड
बेल्जियम राष्ट्रिय टिमका कप्तान तथा फरवार्ड इडेन हाजार्ड स्पेनिस ‘ला लिगा’को सबैभन्दा चर्चित नाम हो। तर, लगातार चोटसँग जुध्नुपरेका कारण उनले ‘ला लिगा’मा सोचेअनुरुपको प्रदर्शन गर्न सकेका छैनन्। हाजार्डले रियल म्याड्रिडबाट ‘ला लिगा’ खेल्दै आएका छन्। यसअघि उनले चेल्सीमा जस्तो प्रदर्शन गरेका थिए, रियलमा त्यो प्रदर्शन दोहोर्याउन सकेका छैनन्। तर, यसपटकको ‘ला लिगा’मा उनी फिट रहेको कारण आफ्नो प्रदर्शन देखाउने मौका आएको छ। यदि उनले राम्रो खेल्न सके भने उनी ‘ला लिगा’को स्टार रहन सक्नेछन्।

५. जान ओब्लाक
‘ला लिगा’मा अब विश्वको शीर्ष खेलाडी मेस्सी छैनन्। तर, च्याम्पियन एट्लेटिको म्याड्रिडका जान ओब्लाक अन्य गोलरक्षकका तुलनामा ‘ला लिगा’मा उत्कृष्ट स्टारको रुपमा रहनेछन्। स्लोभेनियाका कप्तानसमेत रहेका ओब्लाकले पाँचपटक उत्कृष्ट गोलरक्षकका रूपमा सर्वाधिक क्लिनसिट राख्दै जमोरा ट्रफी जितेका थिए। ओब्लाक एट्लेटिको म्याड्रिड र प्रशिक्षक डिएगो सिमिओनको सफलताको महत्वपूर्ण हिस्सा बन्न पुगेका हुन्। रियलले ला लिगामा आफ्नो पहिलो खेल खेलिसकेको छ, जसमा ओब्लाकले उत्कृष्ट बचाउ समेत गरेका छन्। 

६. पेड्री
स्पेनका युवा मिडफिल्डर १८ वर्षे पेड्री केही महिनाअघि सम्पन्ने युरोकप २०२० को उत्कृष्ट युवा खेलाडी घोषित भए। युरोकप २०२० मा एक मिनेटमात्र मैदानबाहिर बसेका पेड्रीको खेल गज्जबकै छ। उनले १८ वर्षकै उमेरमा बार्सिलोना र स्पेनमा आफ्नो प्रभाव छाड्न सफल भएका छन्। कलिलो उमेरमै उनी क्लब र राष्ट्रका लागि एक मुख्य हिस्सा नै बने। 

गत सिजन वार्सिलोनाबाट ७३ खेल खेलेका उनी क्लबका लागि कति आवश्यक छ भन्ने प्रष्ट हुन्छ। उनले आफ्नो प्रगतिलाई यसरी नै जारी राख्न सके उनी बार्सिलोनाबाट ला लिगाको स्टार खेलाडीका रूपमा उदाउँदो सम्भावना हुन्।

७. लुका मोड्रिच
विश्व फुटबलकै उत्कृष्ट मिडफिल्डरको छवि बनाउन सफल क्रोएसिएन प्रतिभा लुका मोड्रिच स्पेनिस ‘ला लिगा’मा खेल्दै बालोन डि ओर जित्ने एक्लो खेलाडी हुन्। रियल म्याड्रिडबाट खेल्ने ३६ वर्षीय मोड्रिच यो सिजन पनि ‘ला लिगा’मा स्टार खेलाडीका रूपमा रहनेछन्। ‘ला लिगा’मा रियलका लागि पाँच गोल गरिसकेका मोड्रिचबाट यस सिजन पनि रियलले सोही अपेक्षा गरेको छ।

८. जेरार्ड मोरेनो
‘ला लिगा’मा लियोनल मेसीपछि सर्वाधिक गोलकर्ता तथा भिल्लारियललाई युरोपा लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका स्ट्राइकर हुन्, जेरार्ड मोरेनो। गत सिजन ४६ खेलमा ३० गोल र ११ असिस्ट गरेका २९ वर्षीय यी स्ट्राइकरले सन् २०१९ मा स्पेन राष्ट्रिय टोलीबाट डेब्यु गरेयता १२ खेलमा ५ गोल गरेका छन्। उनकै उच्च प्रदर्शनमा भिल्लारियल युरोपा लिगको च्याम्पियन बन्दा च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको थियो। त्यसैले उनलाई पनि यसपल्टको ‘ला लिगा स्टार’ मान्न सकिन्छ। 

९. मेम्फिस डिपाए
मेस्सीको बर्हिगमनसँगै यसै सिजन बार्सिलोनामा आबद्ध भएका डट फरवार्ड मेम्फिस डिपाएबाट बार्सिलोनाले ठूलो अपेक्षा गरेको छ। विशेष गरी गोल गर्ने जिम्मेवारीको सन्दर्भमा उनलाई मेस्सीपछिको गोल गर्नसक्ने खेलाडी मानिएको छ। बार्सिलोनामा मेस्सी युगको अन्त्यपछि यिनै फरवार्डबाट बार्सिलोना नयाँ सिजनमा अघि बढ्न चाहन्छ।

१०. मार्काेस लोरेन्टे
मार्काेस लोरेन्टे एट्लेटिको म्याड्रिडले गत सिजन उपाधि जित्दा टोलीका महत्वपूर्ण सदस्य रहेका थिए। एक पूर्ण खेलाडीको छवि बनाएको २६ वर्षीय लोरेन्टेले यो सिजनमा पनि ठूलो छलाङ मार्न सक्नेछन्। त्यसैले उनी पनि ‘ला लिगा’को एक स्टार खेलाडीका रूपमा परिचित छन्। 

११. डेभिड अलावा
सर्जियो रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रस्थान गरेपछि रियल म्याड्रिडले उनको विकल्पमा अस्ट्रियाका डिफेन्डर डेभिड अलावालाई क्लबमा अनुबन्ध गरेको छ। रामोसको जर्सी नम्वर ४ पाएका उनलाई रियलमा नयाँ रामोसका रूपमा हेरिएको छ। उनी ‘ला लिगा’का नयाँ स्टारका रूपमा उदाउन सक्नेछन्।

Logo