नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी सार्वजनिक गर्दै उत्कृष्ट जर्सी डिजाईन प्रतिस्पर्धाको विजेताको घोषणा गरेको छ । क्यान र माई सेकेण्ड टिचरले गत महिना संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी जर्सी डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको थियो ।
प्रतिस्पर्धामा भाग लिनका लागि जर्सीमा राष्ट्रिय झण्डामा भएको रातो र नीलो रंगको प्रयोग गर्नुपर्ने र राष्ट्रिय क्रिकेट टोलीले पालना गर्ने अन्र्तराष्ट्रिय क्रिकेट परिषद् (आइ.सी.सी.) को नियमअनुरुप जर्सी डिजाइन हुनुपर्ने जस्ता मापदण्डहरु रहेका थिए । जर्सी छनोट समितिका लागि क्यानका तर्फबाट सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दासले प्रतिनिधित्व गरेका थिए भने प्रायोजकका तर्फबाट १ जनाले प्रतिनिधित्व गरेका थिए ।
माई सेकेण्ड टिचरको मुख्य प्रायोजन रहेको यस प्रतिस्पर्धामा विजेतालाई पुरस्कारस्वरुप नगद रु. १ लाख प्रदान गर्ने घोषणा गरिएको थियो । छोटो अवधिमै ५०० बढी जर्सीका नमूनाहरु आएको यस प्रतिस्पर्धामा आदर्श पोखरेलको डिजाइन उत्कृष्ट साबित भई छनोट भएको छ । नेपाली टोली आई.सी.सी.को बायो बबलमा भएकाले उपस्थित हुन नसकेका कारण प्रेस विज्ञप्तिमार्फत् नयाँ जर्सी सार्वजनिक गरिएको हो । क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह र माई सेकेण्ड टिचरका सह–संस्थापक सुलभ बुढाथोकीद्वारा संयुक्त रुपमा जर्सी सार्वजनिक गरिएको थियो भने विजेता आदर्श पोखरेललाई पुरस्कारस्वरुप रु. १ लाख रुपैंयाँबराबरको चेक प्रदान गरिएको थियो ।
“हामीले नेपाली टोलीको जर्सी राम्रो र उत्कृष्ट होस् भन्ने हिसाबले क्यानसँग खुल्ला प्रतिस्पर्धाबाट डिजाइन छनोटको लागि सहकार्य गरेका हौँ। आशा गरेअनुरुप यसमा धेरैभन्दा धेरैले भाग लिनुभयो भने नेपाली टोलीले पनि सबैको आँखामा बस्ने खालको जर्सीको डिजाइन पाएको छ । यो जर्सी नेपाली टोलीले केही दिनमै हुने प्रतियोगिताहरूमा लगाउनेछ । साथै, आज उत्कृष्ट डिजाइन गर्ने आदर्श पोखरेललाई पुरस्कारस्वरुप नगद रु. १ लाख पनि माई सेकेण्ड टिचरका तर्फबाट प्रदान गरेका छाँै ।” माइ सेकेण्ड टिचरका सह–संस्थापक सुलभ बुढाथोकीले भने ।
“हाम्रा समर्थकहरुको अटुट माया र विश्वासले गर्दा नेपाली क्रिकेट यहाँसम्म आइपुगेको हो । उहाँहरुको यही सद्भाव अनि साथलाई सम्मान गर्न हामीले यो प्रतिस्पर्धा आयोजना गरेका हौँ। आशा गरौँ, अब हुने खेलहरुमा यो जर्सीले हाम्रा खेलाडीहरुमा नयाँ उर्जा र साहस दिनुका साथै नेपाल र नेपालीप्रतिको आफ्नो जिम्मेवारीको आभास दिलाइरहनेछ। यस अभियानको सहयात्री भएकोमा माई सेकेण्ड टिचरलाई पनि धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु ।” क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले भने।
विजयी जर्सी डिजाइनमा नेपाली झण्डाको रंग, काँधमा नेपालको झण्डा, अगाडि नेपालका गौरव उच्च हिमाल र एकसिङ्गे गैँडा र पछाडि हाम्रो सांस्कृतिक र प्राकृतिक विविधताले उनेको नेपाली समाजको चित्रण गरिएको छ। यो जर्सी लगाएर नेपालले सेप्टेम्बर ५ मा पपुवा न्यु गिनीसँग पहिलो एक दिवसीय खेल खेल्दैछ।































प्रतिक्रिया