महिला फुटबल: जसले राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाए

महिला फुटबल: जसले राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाए

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ। मंगलबार एन्फाले आगामी एएफसी महिला एसियाकप छनोट २०२२ को लागि २३ सदस्यीय टोली घोषणा गरेको हो।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिममा ७ नयाँ खेलाडीलाई स्थान दिएका छन्। जसमा एपीएफबाट राष्ट्रिय लिग खेलेकी प्रिती राईसहित, निशा थोकर,  स्ट्राइकर रजनी थोकर, रश्मि घिसिङ, सविता राना मगर, विमला विक र सृजना सिंह ठकुरी रहेका छन्।

अन्य खेलाडी भने पुरानै अनुहार छन्। यस पटक शर्मिला थापाले टोलीमा स्थान बनाउन सकिनन्। यस्तै पहिलो चरणमा कोरोना कारण रेखा पौडेल टोलीबाहिर रहिन् । यस्तै घुडाको शल्यक्रिया गर्न कतार अस्पेटारमा रहेकी सावित्रा भण्डारी साम्बा पनि टोलीमा छैनन्।

नेपाली टिमले छनोट खेलमा सेप्टेम्बर १८ मा फिलिपिन्सको सामना गर्नेछ। यस्तै २१ तारिखमा हङ्कङको सामना गर्नेछ। यसअघि समूह एफको खेल नेपालमा हुने भनिए पनि कोरोनाको कारण उज्वेकिस्तानमा सरेको छ। प्रत्येक समूहका विजेताले एसियाकप खेल्न पाउनेछन्।

पहिलोपटक स्थान बनाउने खेलाडी

प्रिती राई

मिडफिल्डर प्रितीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन्। गत राष्ट्रिय लिगमा एपीएफबाट खेलेकी प्रिती दोस्रो प्रयासमा राष्ट्रिय टोलीमा पर्न सफल भएकी हुन्। लिगमा उनले दुई गोल गरेकी थिइन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम प्रशिक्षणमा रहेकी प्रिती भुटानमा भएको साफ यू–१५ खेल्न पुग्दा राष्ट्रिय टोलीमा स्थान बनाउन सकिनन्। काठमाडौं निवासी प्रिती उमेर समूह यू–१५ को कप्तान हुन्। उनले यू–१९ टोलीबाट समेत खेलेकी छन्। प्रिती हालको राष्ट्रिय टोलीको कान्छी सदस्य हुन्।

निशा थोकर

अग्लो कदकी निशाले पहिलोपटक राष्ट्रिय टोलीमा डेब्यू गर्दैछिन्। महिला फुटबल र एकेडेमीको लागि उर्वर भूमि मानिने रौतहटको खेलाडी हुन् थोकर। उनले गत लिग विभागीय एपीएफ क्लबबाट खेलेकी थिइन् । लिगको उपाधिसमेत एपीएफले जितेको थियो। यसअघि डिफेण्डर निशा १३ औं साग र हिरो गोल्डकप भारतमा खेल्न जाने टोलीको प्रारम्भिक प्रशिक्षणमा रहेकी थिइन्। निशाले नेपालको यू–१५, १६ र १९ टोलीबाट खेलिसकेकी छन्।

रजनी थोकर

स्ट्राइकर रजनी थोकर पनि पहिलोपटक राष्ट्रिय टोलीमा परेकी हुन्। उनी पहिलो प्रयासमै टोलीमा स्थान बनाउन सफल भइन्। स्ट्राइकर रजनीले राष्ट्रिय महिला लिगमा रौतहटको चन्द्रपुर नगरपालिकाबाट खेलेकी थिइन्। उनले नेपालको उमेर समूहको प्रतिनिधित्व गरिसकेकी छन्।

रश्मि घिसिङ

त्रिभुवन आर्मी फुटबल क्लबकी रश्मि घिसिङ पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन्। उनी दोस्रो प्रयासमा टोलीमा परेकी हुन्। गत लिगमा रश्मिले एक ह्याट्रिकसहित ६ गोल गरेकी थिइन्। मुख्य स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) चोटका कारण टोलीबाहिर रहेसँगै रश्मिलाई अट्याक लाइनमा प्रमाणित गर्ने अवसर छ।  रौतहटकी रश्मीले उमेर समूहमा नेपालको यू–१५, १६ र १९ टोलीबाट खेलिसकेकी छन्।

सविता राना मगर

राष्ट्रिय लिगमा साविता राना मगरले चौदण्डीगढीविरुद्ध ह्याट्रिकसहित ४ गोल गरेकी थिइन्। सविताले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन्। उनी दोस्रो अवसरमा टोलीमा अवसर पाउँदै छिन्। सविताले उमेर समूहमा नेपालको यू–१५, १६ र १९ टोलीबाट खेलेकी छन्। मिडफिल्डर सवितालाई प्रशिक्षकले आवश्यकताअनुसार अट्याकमा पनि बढाउन सक्छन्।

विमला विक

राष्ट्रिय महिला लिगमा प्रभावशाली प्रदर्शन गरेकी विमलासमेत पहिलोपटक राष्ट्रिय टिमको ढोका खोलेकी हुन्। डिफेण्डर विमलाले आर्मी क्लबबाट प्रतिनिधित्व गर्दै २ गोल गरेकी थिइन्। उमेर समूहमा समेत अब्बल प्रदर्शन गरेकी विमलाले राष्ट्रिय टोलीमासमेत डेब्यू गर्न लागेकी हुन्। विमलाले उमेर समूहमा यू–१५, १६ र १९ बाट खेलिसकेकी छन्।

सृजना सिंह ठकुरी

विराटनगर महानगरपालिकाबाट राष्ट्रिय लिगमा प्रतिनिधित्व गरेकी सृजना सिंह ठकुरी पनि पहिलोपटक राष्ट्रिय टोलीबाट खेल्दैछिन्। पश्चिम नेपालकी डिफेण्डर सृजनाले पहिलो अवसरमै राष्ट्रिय टोलीको ढोका खोलेकी हुन्। उमेर समूहमा सृजनाले नेपालको यू–१९ टोलीबाट खेलेकी छन्।न्युज कारखानाबाट

Skip This
Skip This
Logo