स्पेनिस ला लिगामा आज चार खेल हुँदैछन्। आइतबार राति हुने खेलमा चर्चित क्लबहरु बार्सिलोना, साविक विजेता एथ्लेटिको म्याड्रिडलगायतका क्लबहरु आ–आफ्ना प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दैछन्।
पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाले गेटाफेको सामना गर्दैछ। घरेलु मैदान क्याम्प नोउमा हुने खेल नेपाली समयअनुसार आइतबार राति पौने ९ बजे सुरु हुनेछ। बार्सिलोना दोस्रो जीतको खोजीमा छ। दुई खेलबाट चार अंक बनाएको बार्सिलोना आठौं स्थानमा छ।
यता, रेलिगेशन जोनमा रहेका गेटाफे पहिलो जितको खोजीमा हुनेछ। दुई खेल खेलिसक्दा उसले अंक जोड्न सकेको छैन। ऊ तालिकाको १८औं स्थानमा छ।
ला लिगा अन्तर्गत दोस्रो खेलमा काडिज र ओसासुना भिड्दैछन्। खेल नेपाली समयअनुसार राति सवा ११ बजे सुरु हुनेछ। दुवै टोलीले अगिल्ला दुई खेल बराबरी खेलेका छन्। दुवै टोली तेस्रो खेलमा पहिलो जितको खोजीमा छन्।
तेस्रो खेलमा रायो भालेकानोले ग्रानडाको सामना गर्दैछ। खेल सवा ११ बजे हुनेछ। घरेलु मैदानमा हुन लागेको खेलमा रायो भालेकानोलाई रेलिगेशन जोनबाट बच्ने अवसर रहेको छ। अघिल्लो दुई खेलमा पराजित भालेकानो तालिकाको १९औं स्थानमा छ।
यता, ग्रानडासमेत पहिलो जीतको खोजीमा हुनेछ। यस अघिका दुवै खेलमा अंक बाँडेको ग्रानडासँग २ अंक रहेको छ। ऊ १०औं स्थानमा छ ।
यस्तै ला लिगाको आइतबारको अन्तिम तथा चौथो खेलमा साविक विजेता एथ्लेटिको म्याड्रिड र भिल्लारियलबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ।
घरेलु टोली एथ्लेटिकोलाई खेल जित्दै शीर्षस्थानमा फर्कने मौका रहेको छ। एक खेल कम खेलेको एथ्लेटिको ६ अंकसहित पाँचौँ स्थानमा छ।
यता, भिल्लारियल भने पहिलो जितको खोजीमा रहेको छ। दुई खेलबाट दुई अंक जोडेको भिल्लारियल तालिकाको १२औं स्थानमा छ।न्युज कारखानाबाट































प्रतिक्रिया