आगामी एएफसी महिला एसिया कप २०२२ छनोट खेलको तयारीस्वरूप नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आज (आइतबार) हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा दुवै टोली आफ्नो पक्षमा नतिजा बनाउन प्रतिस्पर्धा गर्दैछन्।
नेपाली महिला टोली बंगलादेशविरुद्ध लगातार दोस्रो जीत निकाल्ने दाउमा हुनेछ। यता, बंगलादेश नेपालविरुद्ध पहिलो जीतको खोजीमा हुनेछ। बंगलादेशले नेपालविरुद्ध हालसम्म विजय हासिल गर्न सकेको छैन।
त्यसका बाबजुद बंगलादेशले बिहीबार भएको पहिलो मैत्रीपूर्णमा सुधारिएको खेल प्रदर्शन गर्याे। खेलमा सुरुवातबाटै दबाब बनाएको बंगलादेशले नेपाललाई २-१ गोल अन्तरको नतिजा सुम्पियो।
मुख्य खेलाडी सावित्रा भण्डारी साम्बा र केही अनुभवी खेलाडीलाई बेन्चमा राखेर मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशविरुद्ध नयाँ अनुहारलाई स्थान दिएका थिए। जहाँ खेलाडीले आ-आफ्नो क्षेत्रमा औसत प्रदर्शन गरे।
करिब एक वर्षपछि अन्तर्राष्ट्रिय मैदानमा उत्रिएको नेपाली टोलीले बल पोसेसनमा खासै प्रभाव जमाउन सकेन। यद्यपि दुई गोल भने गर्याे।
दक्षिण एसियाली महिला फुटबलकी उत्कृष्ट स्ट्राइकर सावित्रा भण्डारीबिनै युवा खेलाडीले नेपाललाई नतिजा दिए। तर सावित्रा हुँदा जस्तो अग्रपंक्तिमा नेपालको खेल हेर्न पाइएन।
आइतबारसमेत दोस्रो मैत्रीपूर्णमा प्रशिक्षक ग्यारीले पहिलो खेलकै प्लेइङ सेट उतार्न सक्छन्। प्रशिक्षक ग्यारी धेरैभन्दा धेरै सोहि सेटलाई अभ्यस्त बनाउन चाहन्छन्। एएफसी महिला छनोट खेल नजिकिँदै गर्दा ग्यारीले हालसम्म आफ्नो प्लेइङ सेट पाउन सकेका छैनन्।
प्रशिक्षक ग्यारीले मुख्य स्ट्राइकर सावित्राको अनुपस्थितिमा नेपालको अग्रपंक्ति समाल्ने मुख्य हतियार अझै पाउन सकेका छैनन्। पहिलो खेलमा अग्रपंक्तिको जिम्मेवारी पाएकी प्रीतिले केही राहत भने दिएकी छिन्। प्रीतिलाई राइट विंगर विमला चौधरी र लेफ्ट विंगर सविता राना मगरले साथ दिएका थिए।
सविताले राएट विंगर विमलाको पासमा हेडिङ गोल गर्दै नेपाललाई अग्रता दिएकी थिइन्। दोस्रो मैत्रीपूर्ण खेलमा समेत तिनै खेलाडीले भूमिका निर्वाह गर्नेछन्। यस्तै नेपालको मिड लाइनमा सरु लिम्बू, दीपा राई, अन्जलीकुमारी योञ्जन र रेणुका नगरकोटे नै रहने सम्भावना छ।
सरु र दीपा अट्याकिङ मिडमा रहँदा मन्जली र रेणुका होल्डिङ मिडफिल्डरको रूपमा रहन सक्छन्। यस्तै डिफेन्समा समेत पूजा राना, गीता राना, अमृता जैशी र हीराकुमारी भुजेलले नै निरन्तरता पाउन सक्ने सम्भावना छ।
नेपालको फुल ब्याक (सेन्टर ब्याक) मा गीता राना र अमृता जैशी रहन सक्छन्। राइट ब्याकमा पूजाले खेल्नेछिन्। विराटनगरमा भएको साफमा डेब्यु गरेयता उनले राष्ट्रिय टोलीबाट पहिलो पटक पूरा समय खेलेकी थिइन्।
पहिलो खेलमा केही समस्यामा देखिएकी लेफ्ट ब्याक हीरा भुजेलले दोस्रो खेलमा समेत प्लेइङ सेटमै खेल्ने सम्भावना छ । खेलअघिको पहिलो मैत्रीपूर्णमा हीरा सामेल भएकी छन्।
पहिलो खेलमा चार खेलाडीलाई डेब्यु गराएका प्रशिक्षक ग्यारीले दोस्रो मैत्रीपूर्णमा नयाँ तीन खेलाडीलाई डेब्यु दिन सक्छन्। नेपालले गोल संख्या बढाएको अवस्थामा बाँकी तीनै खेलाडीले दोस्रो हाफमा डेब्यु गर्न सक्छन्।
प्रशिक्षक ग्यारीले दोस्रो मैत्रीपूर्णमा आफ्नो रणनीति ४-३-३ को बनाउने छन्। यो रणनीति आफ्नो पक्षमा बल हुँदा हुनेछ । यस्तै प्रशिक्षक ग्यारी विपक्षीसँग बल रहँदा ४-५-१ को रणनीतिमा हुनेछन्।
बंगलादेशविरुद्ध नेपालको सम्भावित-११
गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा,
डिफेन्डर : हीराकुमारी भुजेल, अमृता जैशी, गीता राना, पूजा राना
मिडफिल्डर : मन्जलीकुमारी योञ्जन, सरु लिम्बू, रेणुका नगरकोटे
स्ट्राइकर : सविता राना मगर, विमला चौधरी, प्रीति राई ।न्युज कारखाना































प्रतिक्रिया