लगातार ३७ खेलसम्म अपराजित बन्दै विश्व रेकर्ड बनाएको इटालीको अपराजित यात्रालाई स्पेनले पूर्णविराम लगाइदिएको छ।
गएराति युईएफए नेशन्स लिग फुटबलको सेमिफाइनलमा स्पेनले इटालीलाई उसकै घरेलु मैदानमा २–१ गोलले स्तब्ध पारेको हो।
जीतसँगै स्पेन नेशन्स कपको फाइनलमा प्रवेश गरेको छ । स्पेनका लागि फेरान टोरेसले १७ औं र ४५ औं मिनेटको अन्तिम समयमा गोल गरेका थिए।
इटालीका लियोनार्दो बुनुचीले ४२ औं मिनेटमा रातो कार्ड पाएका थिए। इटालीका लागि लरेन्जो पेलेग्रिनीले ८३ मिनेटमा एक गोल फर्काए पनि उनको टिम पराजित भयो र इटालीले आफ्नो कीर्तिमानी अपराजित यात्रालाई थप खेलसम्म लम्ब्याउन सकेन।
इटाली ११ सेप्टेम्बर २०१८ मा पोर्चुगलसँग पराजित भएयता लगातार ३७ खेलसम्म कुनै खेलमा पराजित नभइ विश्व रेकर्ड बनाएको थियो। इटालीको विश्वरेकर्ड बनाउनु अघि स्पेन र ब्राजिलले ३५ खेलसम्म अपराजित रहँदै विश्व रेकर्ड आफ्नो नाममा लेखाएका थिए। तर यही वर्षको युरो विजेता इटालीले यी दुई देशको नाममा रहेको कीर्तिमान तोडेको थियो।





























प्रतिक्रिया