कतारमा २०२२ मा हुने फिफा विश्वकपमा जर्मनी छनोट भएको छ। जर्मनी विश्वकपमा छनोट हुने पहिलो टिम बनेको हाे।
युरोपेली क्षेत्रको छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले नर्थ मेसेडोनियालाई ४–० गाेल अन्तरले पराजित गरेर विश्वकपमा छनोट भएको हो। जर्मनी २० औं पटक विश्वकपमा छनोट भएको हो।
जर्मनीका लागि टिमो वर्नरले दुई तथा काई हाभार्ट र जमल मुसिएलाले एकरएक गोल गरे। समूह 'जे' मा जर्मनीको ८ खेलबाट २१ अंक भएपछि समूह विजेता बन्ने पक्का भएको हो।
जर्मनीले अहिलेसम्म चारवटा विश्वकप, तीनवटा युराेकप र एउटा कन्फेडेरेसन कप जितिसकेकाे छ। जर्मनीले सन् १९५४, ७४, ९० र २०१४ मा विश्वकप जितेकाे छ। यस्तै, १९७२,८० र ९६ मा युराेकप र २०१७ मा कन्फेडेरेसन कप जितिसकेकाे छ। फिफाकाे वरियतामा जर्मनी १३ औं स्थानमा छ।





























प्रतिक्रिया