वायर्नद्वारा बायर लिभरकुसेनमाथि फराकिलो जीत दर्ता

वायर्नद्वारा बायर लिभरकुसेनमाथि फराकिलो जीत दर्ता


साविकको विजेता वायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा फराकिलो जीत निकालेको छ। गएराति भएको खेलमा बायर्नले बायर लिभरकुसेनलाई ५–१ गोल अन्तरले हराएको हो। 

लिभरकुसेनको घरेलु मैदानमा भएको खेलमा वायर्नलाई जीत दिलाउन रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले दुई–दुई गोल गरेका थिए। त्यस्तै थोमस मुलरले एक गोल गरे।

यता लिभरकुसेनका प्याट्रिक सिकले एक गोल फर्काए।

वायर्नका लागि खेलको तेस्रो मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाए। ३०औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नको अग्रता दोब्बर बनाए। 

३४औँ मिनेटमा मुलरले वायर्नका लागि तेस्रो गोल गरे। ३५औँ मिनेटमा जिनाब्रीले गोल गर्दै टिमको अग्रता ४–० को बनाए। ३७औँ मिनेटमा जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दा वायर्न ५-० ले अघि रह्यो।

घरेलु टोली लिभरकुशेनका लागि ५५औँ मिनेटमा प्याट्रिकले एक गोल गरेपनि वायर्न ५–१ गोलको जीत निकाल्न सफल भयो। जीतसँगै वायर्न शीर्ष स्थानमा उक्लिएको छ। वायर्नले ८ खेलमा १९ अंक जोडेको छ।

पराजित लिभरकुसेन १६ अंक जोडेर तेस्रो स्थानमा छ।

Logo