खेलाडीहरूको मनोबल बढाउन सरकारले ध्यान दिन्छ: खेलकुद मन्त्री गहतराज

खेलाडीहरूको मनोबल बढाउन सरकारले ध्यान दिन्छ: खेलकुद मन्त्री गहतराज

केन्द्रबिन्दु
0
Shares

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरूको मनोबल बढाउन सरकारले ध्यान दिने बताएका छन् ।

आइतबार युवा तथा खेलकुद मन्त्रालयमा बंगलादेशको ढाकामा हुने पाँचौँ सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिप खेल्न बंगलादेश जान लागेका खेलाडी तथा प्रशिक्षकहरूको बिदाइ गर्दै मन्त्री गहतराजले खेलाडीहरूको मनोबल बढाउन व्यवस्थापकीय कुराहरूमा मन्त्रालयले ध्यान दिने बताएका हुन् । उनले खेलाडीहरूको मनोबल बढाउनका लागि मन्त्रालयले नयाँ तरिका र नयाँपन अपनाइरहेको बताए । मन्त्री गहतराजले खेलका बेला मात्रै खेलाडीहरूलाई राष्ट्रका गहना भन्ने र अरू बेला घर फर्काइदिने परिपाटी उचित नभएको बताउँदै यो परिपाटीलाई सरकारले गम्भीरताका साथ लिने र खेलकुद क्षेत्रको प्रगतिमा मन्त्रालय लागि पर्ने बताए । उनले नेपालीहरू कसैको कहिल्यै अधीनमा नबसेको र वीर गोर्खालीहरूको देश भएकोले खेलाडीहरूले त्यसलाई मनमा राखेर शक्ति र साहसका साथ खेल्न हौसला दिए ।

खेलकुद मन्त्री गहतराजले भने, ‘हामी नेपालीले विश्वमा सबैभन्दा स्वाभिमानका साथ प्रस्तुत हुनुपर्छ । आत्मविश्वासकासाथ प्रस्तुत हुनुपर्छ । किनभने हाम्रो इतिहास र विरासत त्यो छ । त्यो अनुसार हामी प्रस्तुत हुनुपर्छ । म सबै खेलाडी, कोचहरूलाई उच्च मनोबलकासाथ प्रस्तुत हुनुहोस् । उत्कृष्ट व्यवस्थापन गरेर खेलाडीहरूको मनोबल कसरी उठाउने भन्ने बारेमा मन्त्रालयले नयाँ तरिकाले नयाँ पनका साथ काम गर्छौँ । खेलको बेला मात्रै राष्ट्रका गहना भन्ने खेल सकेपछि घर फर्काइदिने कसरी हामी अगाडि बढ्न सक्छौँ ।’

मन्त्री गहतराजले खेलाडीहरूले नेपाली माटो र गौरव गाथालाई सम्झिएर खेल्न आग्रह गरे । उनले अबको ध्येय जित भएको बताउँदै आँट र साहसका साथ खेलेको देख्न र उपाधि नेपाल ल्याउने आसमा आफू र देश रहेको भन्दै जितको स्वागतका लागि मन्त्रालय तयार भएको बताए । बंगलादेशको ढाकामा हुने पाँचौँ सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन राष्ट्रिय सिनियर र जुनियर टिमका खेलाडीहरूलाई मन्त्री गहतराजले खादा र अबिर लगाएर बिदाइ गरेका हुन् । जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ जना खेलाडीहरू सोमवार बंगलादेश प्रस्थान गर्नेछन् । 

Logo