कात्तिक २७ मा विन्टर हाफ म्याराथन हुने

कात्तिक २७ मा विन्टर हाफ म्याराथन हुने

केन्द्रबिन्दु
0
Shares

वाग्मती प्रदेश खेलकुद विकास परिषद् र पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समिति, सिन्धुपाल्चोकको संयुक्त आयोजनामा चौथो पाँचपोखरी विन्टर हाफ म्याराथन २७ कात्तिकमा हुने भएको छ।

नेपाल एथलेटिक्स संघको समन्वयमा हुन लागेको प्रतियोगितामा २१ किलोमिटर दूरीमा ३ विधामा प्रतिस्पर्धा हुने समितिका अध्यक्ष टासी शेर्पाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। 

पुरुष/महिला खुला, सिन्धुपाल्चोकका स्थानीय तथा भेट्रान ४५ वर्षमाथि उमेर समूहमा दौड हुनेछ।

पुरुष/महिला दुवैमा समान पुरस्कार राशी राखिएको छ। खुलामा शीर्ष पाँच स्थान हात पार्ने खेलाडीले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउनेछन्। स्थानीयतर्फ पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद पुरस्कार हात पार्नेछन्। भेट्रानका विजेताले १० हजार, उपविजेताले ८ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार जित्नेछन्।

तीन विभागीय टोलीसहित व्यक्तिगतरुपमा करिब १ सय ५५ खेलाडीको सहभागिता रहने बताइएको छ। प्रतियोगिता सञ्चालन गर्न करिब २१ लाख ४१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

कुल खर्च मध्ये १० लाख परिषद्ले उपलब्ध गराउने र बाँकी अर्को आयोजक समितिले जुटाउने सदस्य–सचिव भण्डारीले बताए। त्यसका लागि दुई आयोजक परिषद्का सदस्य–सचिव भण्डारी, समितिका अध्यक्ष शेर्पा र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टाँसी लामाबीच त्रिपक्षीय सम्झौता भएको छ।

पत्रकार सम्मेलनमा सदस्य–सचिव भण्डारीले अर्को संस्करणदेखि प्रतियोगितालाई अन्तर्राष्ट्रिय बनाउने तयारी रहेको पनि बताए।

नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले प्रतियोगितालाई प्राविधिक रुपमा सहज बनाउन संघसंग सहकार्य गर्दा सहज हुने बताए।

Logo