मनाङ मर्स्याङ्दीको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

मनाङ मर्स्याङ्दीको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

केन्द्रबिन्दु
0
Shares

आठौं पटकको सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले यस सिजनको लागि टोलीको प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ। २९ कात्तिकबाट सुरू हुने शीर्ष डिभिजनको लिगको लागि मनाङले राजेन्द्रलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको हो।  

ए लाईसेन्स प्राप्त प्रशिक्षक राजेन्द्रले विदेशी प्रशिक्षक तोपे फुजासँग सहकार्य गरि मनाङको ‘टच लाइन’ समाल्नेछन्। फुजा केहि समयपछि नेपाल फर्कंदैछन्। यस सिजनको लिगबाट पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले पोखरावासी राजेन्द्रलाई प्रशिक्षकमा रोजेको हो। 

‘मनाङले पोखरालाई घरेलु मैदानको रुपमा अगाडि बढाएको छ। म स्थानीय भएँ। दुबैलाई राम्रो हुने भए पनि हामीले सहकार्य गर्याैं।’ प्रशिक्षक राजेन्द्रले भने। राजेन्द्रले पछिल्लो दुई सिजन विभागीय एपीएफ फुटबल क्लब हेरेका थिए। अघिल्लो सिजन राजेन्द्रको प्रशिक्षणमा एपीएफ रेलिगेसन जोनबाट बचेको थियो। १३ खेल खेल्दा दुई जित, तीन बराबर र आठ खेलमा हार व्यहोरेको एपीएफ नाै अंकसहित १२औं स्थानमा रहेको थियो। 

त्यसअघि भएको विना रेलिगेसनको लिगमा एपीएफले पहिलो पटक पाँचौ स्थान प्राप्त गरेको थियो। विना रेलिगेसनका त्यस लिगमा एपीएफले १३ खेल खेल्दा सातमा जीत, चार हार र दुई खेलमा बराबरी खेलेको थियो। 

प्रशिक्षक राजेन्द्रले लिगमा लामो इतिहाससहित सफल क्लबमा आफूलाई स्थापित गरिसकेको मनाङमा अनुबन्ध हुन पाउनु खुसीको कुरा भएको बताए। ‘एपीएफपछि खाली थिएँ। म आफैँ काम गर्न इच्छुक भएर मनाङमा कुरा राखेँ। टिम हेर्न पाएकोमा खुसी छु।’ राजेन्द्रले भने। २९ कात्तिकबाट सुरू हुने लिगमा मनाङले १ मंसिरमा जावलाखेल युथसँग प्रतिस्पर्धा गर्दै लिगको सुरुवात गर्नेछ। 
 

File Photo : ANFA 

Skip This
Skip This
Logo