बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि आइतबारबाट महिला भलिबल टोलीले अभ्यास सुरु गरेको छ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा आइतबार पहिलो दिन महिला टोलीले सामान्य अभ्यास गर्दै प्रतियोगिताका लागि प्रशिक्षण आरम्भ गरेको हो। बंगलादेशको ढाकामा हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने तालिका रहेको छ। २० खेलाडी समावेश गरि अभ्यास थालिएको हो। नेपाल भलिबल संघको बिहीबार बसेको कार्यसमितिको बैठकले महिला टिमको प्रशिक्षण सुरु गर्ने योजना अनुसार प्रशिक्षण थालेको हो।
प्रतियोगिताका तयारीका लागि यसअघि एसियन च्याम्पियनसिपका लागि छनोट भएका १७ खेलाडीसहित नेपाल पुलिसका तीन खेलाडीलाई समावेश गरिएको छ। नेपाल प्रहरीको आन्तररिक प्रशिक्षणमा रहेका पुलिसका खेलाडीत्रय कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ थपिएका छन्। एसियन च्याम्पियनसिपका लागि दोस्रो चरणमा १८ खेलाडी प्रशिक्षणमा रहे पनि चोटका कारण रिया कुँवर टोलीबाट बाहिर छिन्।
यस अघि २०१९ मा बंगलादेशमै भएको सेन्ट्रल जोनमा नेपालले सबै खेलमा स्पष्ट जीत निकाल्दै उपाधि घर भित्र्याउन सफल भएको थियो। २०२० मा आयोजना भइसक्नु पर्ने प्रतियोगिता विश्वभर फैलिएको कोरोना महामारीका कारण तय भएको तालिकामा आयोजना हुन सकेको थिएन। महिला टोलीले अभ्यास थाले पनि पुरुष टोलीले कहिलेबाट अभ्यास थाल्ने अझै टुङ्गो लागेको छैन । यद्यपि पुरुष टोलीलाई प्रशिक्षण दिन नेदरल्याड्सका प्रशिक्षक हान एबिङ नेपाल आइसकेका छन्।































प्रतिक्रिया