राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले माल्दिभ्सको लिग खेल्ने

राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले माल्दिभ्सको लिग खेल्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले माल्दिभ्सको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन्।

चेम्जोङले माल्दिभ्सको माझिया स्पोर्ट्स एण्ड रिक्रिएसन क्लबबाट खेल्ने भएका हुन्। त्यसका लागि उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्। किरणले यसअघि भारतको आई लिग क्लब पन्जाब एफसीबाट खेल्दै आएका थिए। 

पन्जाब एफसीसँगको सम्झौता समाप्त भएपछि किरणले माल्दिभ्सको माझिया स्पोर्ट्स एण्ड रिक्रिएसन क्लबसँग अनुबन्ध भएका हुन्। 

नेपालमा शीर्ष श्रेणीको ‘ए’ डिभिजन लिग शुक्रबारबाट सुरु हुँदा किरण भने माल्दिभ्स लागेका हुन्।

उनले यसअघि माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबबाट पनि खेलेका थिए। २०१८/०१९ को सिजनमा टिसी स्पोर्टसबाट खेल्दा किरणले लिगको उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए। स्पोर्ट्स एण्ड रिक्रिएसन क्लब किरणका लागि माल्दिभ्सको दोस्रो क्लब हो। 

किरणले नेपालमा गत जेठमा सम्पन्न नेपाल सुपर लिगमा धनगढी एफसी क्लबबाट खेलेका थिए। धनगढी सुपर लिगमा दोस्रो भएको थियो। किरणले नेपालबाट मच्छिन्द्र, थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लबबाट पनि खेलेका थिए। 

किरणकै कप्तानीमा नेपालले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल खेलेको थियो। फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो।

Logo