महिला टी-२० विश्वकप एसिया छनोट: कुवेतकाे सामना गर्दै नेपाल

महिला टी-२० विश्वकप एसिया छनोट: कुवेतकाे सामना गर्दै नेपाल

केन्द्रबिन्दु
0
Shares

पहिलो खेलमा हार र दोस्रो खेलमा जित निकालेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहीबार आज कुवेतको सामना गर्दैछ। 

दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। प्रतियोगितामा कुवेतविरुद्ध खेल्दै गर्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ। नेपाल कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा हुनेछ। 

मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले जितेको थियो। सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले हार्‍यो। 

कुवेत भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। कुवेत दुवै खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ। पहिलो खेलमा भुटानसँग ४० रनले पराजित कुवेत दोस्रो खेलमा मलेसियासँग ८१ रनले पराजित भएको थियो। 

तेस्रो खेलमा जित निकाल्दै नेपाल ग्लोबल छनोटको सम्भावना कायमै राख्न चाहन्छ। त्यसका लागि रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली तयार छ। ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोली ग्लोबल छनोटमा स्थान बनाउनेछ। 

यसअघि नेपालले अन्तिम पटक सन् २०१९ मा भएको खेलमा कुवतेलाई ३० रनले पराजित गरेको थियो।

यता बिहीबार एकै समयमा मलेसियाले हङकङसँग खेल्नेछ। प्रतियोगिताको चौथो खेलमा नेपालले शुक्रबार मलेसियाविरुद्ध र पाँचौँ खेलमा आइतबार संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्ध खेल्नेछ।

जारी प्रतियोगितामा दुई खेलमा दुई नै जित निकालेको यूएई चार अंकसहित शीर्ष स्थानमा छ। नेपाल, मलेसिया, हङकङ र भुटानको समान चार अंक रहँदा नेट रनरेटका आधारमा क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा छन्। बिनाअंक कुवेत पुछारमा छ।

Skip This
Skip This
Logo