चामनी सेनेभिरात्नाको अर्ध शतक मद्दतमा आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाललाई आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)ले १२८ रनको लक्ष्य दिएको छ ।
दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रनको विशाल योगफल तयार पारेको हो । युएईको विशाल योगफलमा चामनी सेनेभिरात्नाले अर्ध शतकसहित सर्वाधिक ५२ रन बनाइन् । ३६ बल खेलेकी चामनीले ७ चौका प्रहार गरेकी थिइन् । यस्तै तीर्थ सतिशाले ४७ रन बनाइन् । अर्ध शतक बनाउन ३ रनले चुकेकी सतिशाले ४६ बलमा ३ चौका प्रहार गरेकी थिइन् । यस्तै, कभिशा इगोदगेले २२ रनको योगदान गरिन् ।
यता, टस जितेर फिल्डिङ गरेको नेपालको लागि कविता कुँवरले दुई विकेट लिइन् । सब्नम राई, सीता राना मगर र संगीता राईले एक एक विकेट लिए । निर्णायक खेल (यही खेल)को विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टी-२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ ।
आइतबार नेपाल र यूएई दुवै टोली खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छन् । यूएई ४ खेलमा ४ जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ । नेपाल ४ खेलमा ३ जित, १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपाललाई जित मात्रले पुग्दैन । रन रेटमा पनि ध्यान दिनुपर्ने हुन्छ ।
नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदा कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । युएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानलाई ४७ रन र कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।































प्रतिक्रिया