‘ए’ डिभिजन लिगः फ्राङ्क्लिनको गोलमा मनाङ हारबाट जोगियो

‘ए’ डिभिजन लिगः फ्राङ्क्लिनको गोलमा मनाङ हारबाट जोगियो

केन्द्रबिन्दु
0
Shares

फ्राङ्क्लिन कुइटे टल्लाले अन्तिम समयमा गरेको गोलसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबारको पहिलो खेलमा मनाङ मर्स्याङ्दी र क्लब संकटा क्लबले बराबरी गाेल गरेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इन्जुरी समयमा टल्लाले गोल गरेपछि  मनाङ र संकटाले बराबरी २-२ गाेल गर्दै बराबरी खेल्दै अंक बाढेका हुन्।  

खेलको ३१औँ मिनेटमा निरज बस्नेतले गरेको गोलबाट संकटाले अग्रता बनाएको थियो। उनले लक्ष्मण रुचालको फ्रि किकलाई सदुपयोग गर्दै हेडमार्फत सेकेन्ड बारमा गोल गरे। ३४औं मिनेटमा मनाङले बराबरी गोल फर्कायो। मनाङका लागि दयानन्द सिंहले गोल गरे। पुजन उपरकोटीको फ्रिकिकलाई बक्सभित्र फ्राङ्क्लिन कुइटे टल्लाले मिलाएको एयर बललाई भारतीय मिडफिल्डर सिंहले हेड गोल गरे। 

७०औँ मिनेटमा उत्तम राईले गरेको गोलबाट संकटाले २-१ को अग्रता बनायो। लेफ्ट विंगबाट फोडे फोफानाले दिएको क्रस बललाई बक्सभित्र रहेका भारतीय खेलाडी उत्तम राईले हेडमार्फत पोस्टको दिशा दिए।

९० मिनेट पछिको इन्जुरी समयमा क्यामरुनका डिफेण्डर टल्लाको गोलसँगै मनाङले हार टारेको हो। बराबरसँगै तीन खेलबाट ५ अंक जोडेको संकटा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। प्रतियोगितामा अपराजित रहेको संकटा पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरीमा रोकिदा दोस्रो खेलमा फ्रेन्ड्स क्लबमाथि २-१ को जित दर्ता गरेको थियो। 

यता, मनाङको भने  तीन खेलबाट ७ अंक जोड्दै मनाङ दोस्रो स्थानमा छ। मनाङले पहिलो खेलमा जावलाखेल र दोस्रो खेलमा हिमालयन शेर्पालाई समान १-० ले पराजित गरेको थियो। 

आजै हुने दोस्रो खेल अपरान्ह ४ः४५ बजे च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुँदैछ।

Logo