खेलग्राम निर्माणका लागि प्रस्ताव पेश गर्न आह्वान

खेलग्राम निर्माणका लागि प्रस्ताव पेश गर्न आह्वान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तहमा निर्माण गरिने खेलकुद पूर्वाधार (खेलग्राम) निर्माणका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ । मन्त्रालयले सोमबार एक सूचना निकाल्दै स्थानीय तहलाई खेलग्राम निर्माणको लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

चालु आर्थिक वर्ष २०७७/७८ का लागि मन्त्रालयले थप ३० वटा पालिकामा खेलग्राम निर्माणको लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो । मन्त्रालयले प्रथम पटक प्रकाशित सूचनाको ३५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गरेर मन्त्रालयको खेलकुद पूर्वाधार विकास शाखा वा राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वरमा प्रस्ताव पेश गर्न सकिने जनाएको छ ।

स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण सम्बन्धी कार्यविधि र मन्त्रालयले पठाएको नमुना खेलग्रामको अवधारणा अनुसार प्रस्ताव पेश गर्नु पर्नेछ । जसमा फुटबल मैदान, क्रिकेट मैदान, भलिबल मैदान, कभर्ड हल, ट्रयाक एन फिल्ड, वाकिङ रुट, फुट ट्रेल, स्वीमिङ पुल, विचरण पार्क लगायतका पूर्वाधार समेटिनु पर्नेछ ।

सरकारले देशभरका स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण गर्ने उद्देश्यले ‘एक स्थानीय तहमा एक खेलग्राम’ को नीति ल्याएको थियो ।

सरकारले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत लगानी व्यवस्थापन गर्ने मोडालिटी सहितको खेलग्रामको अवधारणा अघि सारेको हो । खेलग्राम निर्माणका लागि सरकारले गत वर्षबाट बजेट बिनियोजन समेत गर्न सुरु गरेको थियो । स्थानीय तहसँगको साझेदारीमा मन्त्रालयले गत वर्षबाट ८४ वटा पालिकामा खेलग्राम निर्माण सुरु गरिसकेको छ ।

Skip This
Skip This
Logo