तनावपूर्ण खेलमा सुजलको गोल निर्णायक, मौरिससमाथि नेपालको लगातार दोस्रो जित

तनावपूर्ण खेलमा सुजलको गोल निर्णायक, मौरिससमाथि नेपालको लगातार दोस्रो जित

केन्द्रबिन्दु
0
Shares

तनावपूर्ण बनेको दोस्रो मैत्रीपूर्ण खेलमा नौ खेलाडीमा सीमित मौरिससमाथि नेपालले १-० को जित निकालेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पनि १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको थियो । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा शनिबार अफ्रिकन पाहुना टोलीलाई समान १-० ले नै पराजित गरेको थियो । 

१०औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै नेपालको जितमा पर्याप्त बन्यो। नविन गुरुङले प्रहार गरेको कर्नर मोरिससका खेलाडीबाट रिबाउन्ड आएपछि आशिष लामाले प्रहार गरे। आशिषको प्रहारमा पुजन उपरकोटीले गरेको ब्याक फ्लिकलाई सुजलले पनि ब्याक फ्लिकमार्फत नै बललाई पोस्टको दिशा दिए। 

मैत्रीपूर्ण खेलमा मौरिससविरुद्ध अग्रता दिलाउँदा सुजलले ६ वर्षपछि गोल गरेका हुन्। राष्ट्रका लागि  यो उनको तेस्रो गोलसमेत हो। यस अघि सुजलले २०१६ मा सोलिडारिटी कपमा नेपालका लागि अन्तिम गोल गरेका थिए। सुजनले यस अघि टिमोर लिस्टे र लाओसबिरुद्ध गोल गरेका हुन् ।

लगत्तै अर्को मिनेटमा माैरिससले पेनाल्टीमा गोल गर्ने सुनौलो अवसर गुमायो । नेपाली डिफेन्डर दिनेश राजवंशीले लिन्सले ब्रेजमाथि १८ यार्ड बक्सभित्र फउल गरेपछि माैरिससले पेनाल्टी पाएको थियो । तर, माैरिससका कप्तान एन्डि सोफीले गरेको प्रहार नेपाली कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाए । 

३६औं मिनेटमा तेज तामाङले करिब २५ यार्डबाट गरेको प्रहार पोस्टको केही इन्च परबाट बाहिरियो ।

३९औं मिनेटमा पुजनले प्रहार गरेको फ्रिकिकलाई अफ मार्क रहेका दर्शन गुरुङले गरेको हेड बारमाथिबाट बाहिरियो । 

५१औं मिनेटमा माैरिससका भासिस्ट क्यालकाटाले बक्स बाहिरबाट गरेको प्रहार किरणले बचाए। 

६८औं मिनेटमा एन्डि सोफीले गरेको सशक्त प्रहार जोगाउँदै किरणले नेपालको संकट टारे। 

खेलको दोस्रो हाफ निकै तनावपूर्ण बन्यो। दोस्रो हाफको ७१औं मिनेटमा हात हालाहालमा उत्रिए पछि रेफ्रीले दुबै देशका एक एक खेलाडीलाई रातो कार्ड देखाए। नेपालका पुजन उपरकोटी र माैरिससका एड्रियन बोटलरले रातो कार्डको दर्शन गरे ।

यसै बेला रेफ्री नबिन्द्र महर्जनले  नेपालका गोलकिपर प्रशिक्षक विकाश मल्लले समेत रातो कार्ड दर्साए ।

७९औं मिनेटमा इम्यानुयल फुलचुन्डले दोस्रो पहेंलो कार्डपछि रातो कार्डको दर्शन गरे। उनले ६२औं मिनेटमा पहिलो पहेंलो कार्ड बेहोरेका थिए। 

८९औं मिनेटमा फ्लड लाइटको लक्स घटेपछि खेल करिब १० मिनेट अवरुद्ध बनेको थियो। दोस्रो खेलमा प्लेइङ सेटमा खेल्दै नवीन गुरुङले डेब्यु गरे। जारी लिगमा एन आर टी क्लबबाट खेलिरहेका राइट ब्याक नबिन पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । 

Logo