दक्षिण कोरिया कतार विश्वकप-२०२२ का लागि स्थान बनाउने दोस्रो एसियाली राष्ट्र बनेको छ।
यसै हप्ता इरान विश्वकपमा छनोट हुँदा मंगलबार भएको खेलमा घरेलु टोली सिरियालाई २-० ले पराजित गर्दै कोरियाले विश्वकपमा स्थान बनाएको हो। दुबईको अल रसिद मैदानमा भएको खेलमा कोरियालाई जिताउन जिन सु किम र चिङ हुनले एक-एक गोल गरे।
यससँगै समूह ‘ए’ बाट विश्वकपमा दुई टोलीले स्थान बनाए। इरान आठ खेलबाट २२ अंकसहित शीर्षस्थानमा रहँदै यसअघि नै विश्वकपमा स्थान बनाएको छ। समान आठ खेलमा २० अंक जोडेको कोरिया दोस्रो स्थानमा रहँदै छनोट भयो ।
यता, समूह ‘बी’ को खेलमा जापानले घरेलु मैदानमा साउदी अरेबियालाई २-० अन्तरले पराजित गर्यो। जापानको जितमा तुकुमी मिनामिनो र जुन्या इतोले एक एक गोल गरे। जापानको जितसँगै समूह ‘बी’ मा विश्वकपमा स्थान बनाउन तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ।
आठ खेलबाट साउदी १९ अंकसहित शीर्षस्थानमा छ। दोस्रो स्थानको जापानको १८ अंक छ भने १५ अंकको अष्ट्रेलिया तेस्रो स्थानमा छ।
मंगलबार नै भएको खेलमा अष्ट्रेलियाले ओमानसँग २–२ गोलको बराबरी खेल्यो। यस समूहबाट समेत दुई टोली विश्वकपमा सिधै स्थान बनाउने छन्। दुवै समूहका तेस्रो टोलीबाट विजेता हुने टिमले दक्षिण अमेरिकी पाँचौ टोलीसँग प्रतिस्पर्धा गर्दै विश्वकपको ढोका खोल्न सक्नेछ।





























प्रतिक्रिया