आइसिसी ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोटमा नेपाललाई तेस्रो स्थान

आइसिसी ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोटमा नेपाललाई तेस्रो स्थान

केन्द्रबिन्दु
0
Shares

आइसिसी ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोटअन्तर्गत तेस्रो स्थानको खेलमा नेपालले ओमानलाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको सुखद् अन्त्य गरेको छ। 

ओमानविरुद्ध मस्कटको अल अमेरत क्रिकेट मैदानमा घरेलु टोलीले दिएको ८८ रनको लक्ष्य नेपालले २२ बल अगावै मात्र एक विकेट गुमाएर भेट्टायो।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । उनले ५३ बलमा तीन चौका र दुई छक्कासहित ५५ रन बनाए । यसबाहेक, नेपालका अर्का ओपनर आशिफ शेख १८ बलमा एक चौकासहित १३ रन बनाएर पेभेलियन फर्किदा आरिफ शेख २७ बलमा एक चौकासहित २१ रन बनाए।

कुशलको यो पाँचौं ट्वान्टी २० अर्धशतक हो । जुन ट्वान्टी २० क्रिकेटमा नेपाली ब्याटरले बनाएको सर्वाधिक अर्धशतक हो। उनले पारस खड्काको नाममा रहेको चार अर्धशतकको कीर्तिमान तोडे। उनले हालसम्म ट्वान्टी २० क्रिकेटमा पाँच अर्धशतकसँगै एक शतक प्रहार गरेका छन्। 

ओमान कप्तान जिसन मक्सुदले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८७ रनको योगफल खडा गरेको थियो ।

ओमानका मक्सुदले सर्वाधिक २१ रन बनाए । उनले २८ बलमा तीन चौका प्रहार गरे। यस्तै, अयान खानले १६, नसिम खुसीले १५ र कलिमुल्लाहले १४ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए। चार ओभर बलिङ गरेका सन्दीपले १३ रन मात्र खर्चिए। यसबाहेक, सागर ढकाल, कमलसिंह ऐरी, आरिफ शेख र अविनाश बोहराले समान एक विकेट लिए।

छनोटको सेमिफाइनलमा पराजित भएपछि दुवै टोलीको विश्वकप सम्भावना समाप्त भएको थियो। सेमिफाइनलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ६८ र ओमान आयरल्यान्डसँग ५६ रनले पराजित भएको थियो।

आयरल्यान्ड र ओमान पनि अहिले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। सेमिफाइनलमा जित निकालेसँगै दुवै टोली अस्ट्रेलियामा अक्टोबरदेखि सुरु हुने ट्वान्टी २० विश्वकपमा छनोट भइसकेका छन्।

Logo