मोफसलको प्रतिष्ठित झापा गोल्डकपको पाँचौं संस्करण फागुन २१ गतेदेखि हुने भएको छ। गोल्डकपका लागि सम्पूर्ण तयारी पूरा भएको झापा गोल्डकप आयोजक समितिले जनाएको छ। प्रतियोगिता बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा हुनेछ।
कोरोना महामारीले दुई वर्ष रोकिएर शनिबारदेखि हुने प्रतियोगिताको तयारी सकिएको आयोजकले बिहीबार पत्रकार सम्मलेन गर्दै जानकारी दिएको हो। प्रतियोगितामा भारतको दार्जिलिङको एम एफसी र सिक्किमको आरपी एफसीको सहित साविक त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टर क्लब, संकटा क्लब, झापा-११ फुटबल क्लब, एपिएफ फुटबल क्लब, जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लब सहभागी हुने आयोजकले जनाएको छ।
झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार पाउनेछन् । उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको ‘मस्ट भ्यालुएवल प्लेयर’ले एक थान मोटर साइकल पाउनेछ। यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद नाै हजार ९९९ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। पाँचौं संस्करणको यो गोल्डकपमा नेपाल आइस बियरले मुख्य प्रायोजन गर्नेछ।
प्रतियोगिताका लागि १२ हजार दर्शक अट्ने प्याराफिट निर्माण गरेको छ। प्रतियोगिता सम्पन्न गर्ने एक करोड ४० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक समिति अध्यक्ष विनोद बस्नेतले बताए।
पाँचौं संस्करणको गोल्डकपको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र समापन कांग्रेस नेता कृष्ण सिटौलाले गर्ने अध्यक्ष बस्नेतले बताए।































प्रतिक्रिया