कमजोर ब्याटिङका कारण यूएईसँग नेपाल फेरि पराजित

कमजोर ब्याटिङका कारण यूएईसँग नेपाल फेरि पराजित

केन्द्रबिन्दु
0
Shares

आईसीसी क्रिकेट विश्वकप 'लिग टु' अन्तर्गतको तेस्रो सिरिजको तेस्रो खेलमा पनि नेपाल कमजोर ब्याटिङको सिकार भएको छ ।

यूइईविरुद्धको दोस्रो खेलमा पनि नेपाल ९९ रनले पराजित भएको छ । जारी सिरिजमा यो नेपालको दोस्रो हार हो भने यूएईको दोस्रो जित हो । सोमबारको खेलपछि यूएईको २२ अंक भएको छ भने नेपाल १० अंकमा सीमित छ । 

दुबईमा यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १०३ रनमा अलआउट भयो । ओपनिङलाइनअप ध्वस्त भएपछि नेपालको इनिङ्स सुरुवातबाटै धरमराएको थियो ।

रोहित पौडेल ९, कुशल भुर्तेल ५, पवन सर्राफ २ र दीपेन्द्रसिंह ऐरी शुन्य रनमा आउट भए । २१ रन जोड्दा ४ विकेट गुमाएको नेपालको इनिङ्स ज्ञानेन्द्र मल्ल र आरिफ शेखले सम्हाल्ने प्रयास गरेका थिए । तर आरिफ पनि १५ रनमा पवेलियन फर्केपछि नेपाल संकटमा परेको थियो ।

नेपालका लागि सर्वाधिक ३० रन बनाएका ज्ञानेन्द्र अहमद राजाको बलमा एलबीडब्लु आउट भए । सोमपाल कामीले १५, विनोद भण्डारीले १२, करण केसीले ४, विक्रम सोबले १ रन बनाउँदा सन्दीप लामिछानेले खातै खोल्न पाएनन् । 

नेपाललाई दोस्रो हार चखाउन जुनैद सिद्धिकीले ४ विकेट लिए । कासिफ दाउद र अहमद राजाको नाममा २ २ विकेट रह्यो । 

यसअघि दुबईमा टस जितेर नेपालले बलिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर २०२ रन बनाएको थियो । यूएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए । सोमपाल कामीको बलमा बोल्ड हुनु अघि उनले ७३ बलमा २ चौका र एक छक्काको मद्दतमा सो रन जोडेका थिए ।

ओपनर मुहमद वासिमले ३३, चिराग सुरीले २६ र रित्या अरभिन्दले २४ रन बनाएका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले ३ तथा करण केसी र सोमपाल कामीले २ २ विकेट झारे । दीपेन्द्र सिंह ऐरी र आरिफ शेखकको नाममा एकएक विकेट रह्यो । 

जारी सिरिज अन्तर्गत आफ्नो ४ खेलमध्ये यूएईले ३ मा जित निकालेको छ । नेपाल र पीएनजीबीचको दोस्रो खेल मंगलबार हुनेछ । दुबैले २ मा हार र एकमा जित निकालेका छन् । १४ खेलमा पराजित पीएनजीले यूएईलाई पराजित गर्दै १५औं खेलमा अंक जोडेको थियो । 

Logo